ICAS
Rara

धादिङको उत्तरी क्षेत्र लागूपदार्थ ओसारपसारमा कसरी संसारभरि जोडिन पुग्यो ? 

पोखरा/

लागूपदार्थ ओसारपसारको कसुरमा अहिले थाइल्याण्डका जेलमा मात्रै ३६ जना नेपाली छन् । १३ देखि ४३ वर्षसम्मको कैद सजाय भोगिरहेका उनीहरूमध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकाका र त्यसमा पनि सत्यदेवीका सबैभन्दा धेरै छन् ।

govnotice

२०७३ पुसमा धादिङका वेगबहादुर तामाङ (४१) र धनबहादुर तामाङ (४८) बैंकक्को एउटा कारागारबाट रिहा भए । २०५७ साल जेठमा उनीहरू थाइल्यान्डको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । पाकिस्तानको इस्लामावादबाट बैंकक् पुगेका उनीहरू लागूपदार्थसहित समातिएका थिए ।

थाई प्रहरीले वेगबहादुर र धनबहादुरलाई शंका गरेर एक्सरे मेशिनमा हालेको थियो । उनीहरूको साथबाट लागूपदार्थ ‘हेरोइन’ फेला प¥यो । थाई अदालतले लागूपदार्थ ओसारपसार गरेको अभियोगमा दुवैलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर, उनीहरूले अदालतमा अपराध कबुल गरेपछि मृत्युदण्डलाई आजीवन काराबासमा परिवर्तन गरियो । त्यसपछि १६ वर्ष ७ महीना जेल सजाय काटेर २०७३ पुसमा उनीहरू रिहा भएर नेपाल फर्केका छन् ।

“लागूपदार्थ बोकेको थिएँ, पहिलो पटकमै समातिएँ” – धनबहादुर तामाङ, ४७, खनियाबास गाउँपालिका–४

  • कहिले पक्राउ पर्नुभयो र छुट्नुभयो र ?

सन् २००० को जुलाई अन्तिममा थाइल्याण्ड विमानस्थलबाट पक्राउ परें । सन् २०१६ को डिसेम्बर अन्तिममा छुटें ।

  • कता जाँदै हुनुहुन्थ्यो, साथमा के थियो र?

पाकिस्तानबाट बैंकक् जाँदै थिएँ । साथमा करीब ५०० ग्राम जति लागूपदार्थ थियो ।

  • उनीहरूले कसरी पत्ता लगाए ?

लागूपदार्थ खाएको थिएँ । पक्रेर भिडियो एक्सरे गरे । त्यसपछि छेर्ने औषधि दिए । भातभुतै बाहिर निस्कने रहेछ ।

  • यस्तो काममा कसरी लाग्नुभयो ?

लामो कहानी छ । किन ढाँटिरहनु, साथीहरूको संगतले हो ।

  • कति पटक ओसारपसार गर्दा पक्राउ पर्नुभयो र?

पहिलो पटकमै समातिएको हो ।

  • लागूपदार्थ पठाउने मानिसले तपाईंलाई के भनेका थिए ?

त्यति ठूलो कुरा होइन यो । पक्राउ परे पनि दुई वर्ष त हो नि भनेका थिए । दुई वर्ष हो भने ठीकै छ नि, छोरो मानिसले जेल पनि पर्नुपर्छ भनेर गरेको । तर, जिन्दगी त्यहीं सकिन्छ भन्ने मलाई थाहा थिएन । थाहा भए त्यस्तो गर्ने थिइनँ ।

  • कति पैसा दिन्छु भनेका थिए ?

७०० डलर ‘क्यारिएर खर्च’ भनेर दिएको थियो ।

  • इस्लामावादमा कसले ल्याएर दियो ? तपाईंहरूसँग को सम्पर्कमा थियो ?

इस्लामावादमा लागूपदार्थ ल्याएर दिने नेपाली नै थियो । त्यो अहिले यो संसारमा छैन । थाइल्यान्डमा लगेर चाहिं हब्सीलाई दिनुपर्ने थियो, तर

  • एअरपोर्टमै झ्याप पारिहाल्यो ।लागूपदार्थ पेटमा निलेर हिंड्दा कस्तो हुन्थ्यो ?

साथीहरूलाई कस्तो भो थाहा छैन तर मलाई चाहिं गर्मी ‘फिलिङ’ भयो । तल्लोपट्टि पेट फुकेको जस्तो हुन्थ्यो ।

  • त्यो काममा जानुअघि नेपालमा के गर्नुहुन्थ्यो ?

म कतारमा ‘बिल्डिङ कन्स्ट्रक्सन’ मा ‘कार्पेन्टर’ को काम गर्थें । १९९५ मा कतार छिरेको थिएँ, त्यसपछि दुबई गएँ । काम चित्त नबुझेर काठमाडौं आएर काम खोजिरहेको थिएँ । एक ट्रिप गएर आए पैसा हुन्छ भन्ने भयो । फेरि दिनैपिच्छे भेट्ने मानिसले किन नआँटेको भन्न थाले । मन पनि पागल जस्तो भयो । अनि एक पटक जाऊँ न त भनेर निर्णय गरियो ।

  • त्यसरी जाने कति जना हुनुहुन्थ्यो ?

दुई जना वेगबहादुर र म ।

  • कति वर्षको जेल सजाय भएको थियो ?

पहिले फाँसीको सजाय भएको थियो । हामीले अपराध स्वीकार गरेको कारण आजीवन कारावासमा परिणत ग¥यो । अस्वीकार गरेको भए शायद मृत्युदण्डको सजाय पनि हुन्थ्यो होला । त्यसवेला धेरैलाई मृत्युदण्ड दिइरहेको थियो । फाँसी दिनेलाई फाँसी, गोली ठोक्नेलाई गोली ठोकिरहेको थियो ।

  • जेल जीवन सम्झिंदा अहिले कस्तो लाग्छ ?

नर्कबाट स्वर्ग आए जस्तो लाग्छ ।

  • अहिले पनि तपाइँको गाउँका मानिस त्यस्तो काममा जान्छन् ?

म कसैसँग सम्पर्कमा छैन । दुई छोरा छन् । उनीहरूलाई कसरी समय दिने, कसरी राम्रो बाटोमा लगाउने भन्ने छ मलाई । मैले कुकुरले नपाउने दुःख पाएँ । उनीहरूले त्यस्तो दुःख नपाउन् भन्ने छ । जसरी हुन्छ उनीहरूलाई राम्रो बाटोमा लगाउनु छ ।

थाइल्याण्डका कारागारबाट उनीहरूसँगै अरुणकुमार तामाङ र इमान गुरुङ पनि रिहा भएका थिए । सन् २००० को अगस्त महीनामा अरुण र केही समयपछि गोरखा बारपाकका इमानसिंह गुरुङ बैंकक् विमानस्थलबाट पक्राउ परेका थिए । वेगबहादुर र धनबहादुर जस्तै पाकिस्तानबाट लागूपदार्थ बोकेर थाइल्यान्ड प्रवेश गर्न खोज्दा उनीहरू पक्राउ परेका थिए । दुवैलाई मृत्युदण्डको सजाय भएको थियो । अपराध कबुल गरेपछि त्यसलाई आजीवन कारावासमा परिणत गरियो । १६ वर्ष जेल सजाय काटेपछि उनीहरू पनि रिहा भएर नेपाल फर्किए ।

थाइल्याण्डको केन्द्रीय कारागारबाट रिहा भएका यी चार नेपालीमध्ये तीन जनामा एउटा समानता छ । उनीहरू धादिङको उत्तरी गाउँका बासिन्दा हुन् । वेगबहादुर र अरुणकुमार सत्यदेवीका हुन् भने धनबहादुर छिमेकी गाउँ दार्खाका ।

१६ वैशाख २०७२ नेपालमा भूकम्प गएको चार दिन भएको थियो । त्यस दिन इन्डोनेसियाले लागूपदार्थ ओसारपसारमा संलग्न भएको अभियोगमा दुई अष्ट्रेलियाली सहित आठ विदेशी नागरिकलाई मृत्युदण्ड दियो । जसमा दुईजना अष्ट्रेलियाली नागरिकहरू एन्ड्रयु चान र म्युरन सुकुमारन पनि थिए ।

इन्डोनेसियाको अदालतले लागूपदार्थ ओसारपसार गर्नेहरूलाई मृत्युदण्ड दिने फैसला गरेको थियो । ‘बाली नाइन’ भनेर चिनिने त्यो कारबाही लागूपदार्थ ओसारपसार विरुद्ध संसारभर चर्चित प्रकरणमा पर्दछ ।

आफ्ना दुई नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा अष्ट्रेलियाले इन्डोनेसियाबाट राजदूतलाई फिर्ता बोलायो । इन्डोनेसियाको बालीबाट लागूपदार्थ हेरोइन तस्करी गरेर अष्ट्रेलिया पु¥याउन खोजिरहेका वेला उनीहरू ४ वैशाख २०६२ मा कोही बाली विमानस्थलबाट र कोही होटलबाट पक्राउ परेका थिए । उनीहरूबाट ८ केजी ३०० ग्राम हेरोइन बरामद गरेको बाली प्रहरीको भनाइ थियो ।

‘बाली नाइन’ प्रकरणमा अष्ट्रेलियाली नागरिकलाई हेरोइन उपलब्ध गराएको भनेर एक नेपालीको नाम प्रकाशमा आयो । अष्ट्रेलियाली सञ्चारमाध्यमहरूका अनुसार ती व्यक्ति थिए– मानसिंह घले । अष्ट्रेलियाली नागरिक पक्राउ परेको १० दिनपछि १४ वैशाख २०६२ मा इन्डोनेसियाली प्रहरी कारबाहीमा घले मारिए ।

राजधानी जकार्तास्थित घलेको निवासमा छापा मार्ने क्रममा प्रहरी कारबाहीमा उनी मारिएका थिए । इन्डोनेसियन प्रहरीले भाग्न खोज्दा गोली चलाएको दाबी गरेको थियो । घले र इन्डोनेसियन प्रहरीबीचको साँठगाँठ खुल्ने भयले उनलाई मारिएको कतिपयको आशंका छ । घले पनि धादिङ सत्यदेवीकै बासिन्दा हुन् ।

१७ वैशाख २०७३ मा कपनबाट प्रहरीले पूर्णबहादुर पाख्रिन तामाङलाई पक्राउ ग-यो । ५० लाख रुपैयाँ नगद सहित उनको साथबाट ३०२ ग्राम ‘एम्फेटामाइन’ बरामद भएको थियो । प्रहरीका भनाइमा थाइल्यान्डबाट मगाएको सो लागूपदार्थ यूरोप पठाउने तयारीमा थिए, उनी ।

उनले सो लागूऔषध धर्म पाख्रिन तामाङबाट प्राप्त गरेको बताएका थिए । नेपाल प्रहरीको रेकर्डमा धर्म लागूपदार्थ तस्करी गर्ने अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका व्यक्ति हुन् । उनी थाइल्यान्ड बसेर दक्षिण पूर्वी एशिया, अष्ट्रेलिया र यूरोपसम्म ‘एम्फेटामाइन’ लगायतका लागूपदार्थ तस्करीमा संलग्न छन् । धर्म र पूर्ण दाजुभाइ हुन् । उनीहरूको स्थायी ठेगाना पनि धादिङ सत्यदेवी नै हो ।

थाइल्याण्डका विभिन्न ६ वटा कारागारमा अहिले ३६ नेपाली बन्दी छन् । २२ माघ २०७६ मा बैंकक्स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार, १४ देखि ४३ वर्षसम्मको जेल जीवन तोकिएका उनीहरू सबै लागूपदार्थ ओसारपसार मामिलामा पक्राउ परेका हुन् । यीमध्ये धेरै जना उत्तरी धादिङका बासिन्दा छन् ।

सत्यदेवी महाभारत पर्वत शृङ्खलामा पर्ने धादिङको एउटा दुर्गम गाउँ हो । सदरमुकाम धादिङबेसीबाट करीब ३५ किलोमिटर उत्तरमा पर्छ यो गाउँ । यसको उत्तरतर्फ गणेश हिमाल छ । हिउँदमा मात्रै यो गाउँबाट सदरमुकामसम्म सडक मार्गले जोड्छ । तामाङ जातिको बाहुल्य रहेको साविकको सत्यदेवी गाविस राज्यको नयाँ पुनर्संरचना पछि खनियाबास गाउँपालिकाको वडा नम्बर ५ मा पर्छ । २०३२ साल अघिसम्म यो गाउँ रसुवा जिल्लामा पथ्र्यो ।

  • यसरी जोडियो गाउँ
parichay

धादिङको उत्तरी क्षेत्र लागूपदार्थ ओसारपसारमा कसरी संसारभरि जोडिन पुग्यो ?  आर्थिक रूपमा विपन्न यो बस्तीका गाउँले किसान कसरी यस्तो अपराधमा संलग्न हुन पुगे रु यसको कारण थाहा पाउन तीन दशक अगाडि पुग्नुपर्छ ।

चालीसको दशकमा मुलुकमा पञ्चायती शासन व्यवस्था थियो । त्यसवेला चल्तीमा थियो ‘झिटीगुन्टा’ व्यापार । गरीब र बेरोजगार युवालाई व्यापारीले आफूसँगै विदेश लैजान्थे । उनीहरूलाई बोकाएर रेडियो, टेलिभिजन लगायत विद्युतीय उपकरण, लुगा–फाटो लगायतका तेस्रो मुलुकका सामान नेपाल आयात गर्थे ।

“मृत्युदण्डको सजाय भएको थियो । मैले अपराध स्वीकारेपछि आजीवन कारावास भयो” – वेगबहादुर तामाङ ४१, खनियाबास गाउँपालिका–५

कस्तो अवस्थामा पक्राउ पर्नुभयो ?

सन् २००० को जून १३ मा पाकिस्तानबाट जहाजमा थाइल्याण्ड जाँदा त्यहाँको विमानस्थलमा पक्राउ परें । त्यसअघि म साउदी अरबको जेद्दा शहरमा काम गर्थें । कम्पनी राम्रो भएन, नेपाल फर्कें । ऋण थियो, त्यो तिर्न पनि अर्को देश जानुपर्ने भयो । दलालको फन्दामा परेर त्यहाँ पुगेको थिएँ ।

  • तपाईंको साथबाट के भेटिएको थियो ?

लागूपदार्थ ७०० ग्राम हेरोइन ।

  • यसरी बोकेर हिंड्दा जोखिम हुँदैन र ?

हामीले नबुझेको कारणले मात्र । एकदमै जोखिमपूर्ण हुने नि १ त्यसअघि हामीले त्यस्तो कुरा देखेको पनि थिएनौं । त्यहाँ भित्र के छ भन्ने ज्ञान पनि थिएन । प्याकिङ गरेको चिजलाई यहाँबाट त्यहाँ पु¥याउने भन्ने मात्रै जानकारी थियो । त्यसबापत पैसा पाइन्छ भन्ने थियो ।

  • एक पटक लैजाँदा कति पैसा आउँथ्यो ?

१६०० डलर दिने भन्ने थियो ।

  • तपाईं कति पटक ओसारपसारमा संलग्न हुनुभयो ?

पहिलो पटकमै पक्राउ परे ।

  • कसरी पक्राउ पर्नुभो ?

हामीभन्दा अघि पनि केही नेपाली पक्रिएको रहेछ । त्यसपछि जो–जो नेपाली आउँछन् उनीहरूलाई एक्सरेमा हाल्ने गरेको रहेछ । ‘बिजनेस’ र ‘अफिसियल’ भिसामा जानेलाई अलग्गै तर टुरिस्ट भिसामा आउने सबैलाई ‘एक्सरे’ मा हाल्ने गरेको रहेछ ।

  • कति जेल सजाय भएको थियो ?

मलाई मृत्युदण्डको सजाय भएको थियो । मैले अपराध स्वीकारेपछि आजीवन कारावास भयो ।

  • जेल जीवन कस्तो थियो ?

जेलको अवस्था भनेको गोठमा बाँधेको बस्तु जस्तो थियो । भाषा, संस्कृति, खानपान नमिल्ने भएकोले अत्यन्तै कठिनाइ हुन्थ्यो । पाँच वर्षसम्म त म पागल जस्तो भएको थिएँ । आफूलाई ‘कन्ट्रोल’ नै गर्न नसक्ने भएको थिएँ । म कसरी यहाँ आइपुगे रु कसरी किन यस्तो काममा लागे भन्ने कुराले ‘रिगरेट’ हुने । जानेर भन्दा पनि नजानेर फसेको थिएँ म । साउदी अरब जाँदा ऋण लिएर गएको मेरो मनमा सधंै कसरी ऋणबाट उम्कने भन्ने मात्रै थियो । २०/२१ वर्षको उमेरले होला गलत काममा छु भन्ने पनि नलाग्ने ।

  • परिवारसँग कसरी सम्पर्क हुन्थ्यो ?

चिठीको माध्यमबाट हुन्थ्यो । जेलबाट दैनिक एउटा चिठी लेख्न पाउँथें । वाङकाङ सेन्ट्रल जेल हो । चार हजार कैदी हुने । परिवारका सदस्य र गाउँले साथीहरूलाई चिठी लेख्थें । नेपालबाट दाजुहरूले चिठी लेख्नुहुन्थ्यो । पछि आश मार्थे कि के हो विस्तारै ‘ग्याप’ बढ्दै जान्थ्यो ।
घरबाट चिठी आउँदा मान्छे भेटेको जस्तै हुन्थ्यो । एकदमै ‘गुड फिलिङ’ हुन्थ्यो । राति निद्रा पनि राम्रोसँग पर्दथ्यो । अलि बढी खाना खान मन पनि लाग्थ्यो । जेलमा बाँच्ने आधार भनेकै एउटा चिठी हो । मैले गल्ती नगरेको भए म पनि त्यो गाउँ ठाउँमा हुन्थे नि भन्ने लाग्थ्यो ।

  • १७ वर्षपछि जेलबाट निस्कँदा कस्तो लाग्यो ?

मलाई जूनको उज्यालो हेर्न मन थियो । नेपाल जान र परिवारसँग भेट्न पाइयोस् भन्ने थियो । मलाई अर्को चिन्ता भनेको नयाँ जिन्दगी कसरी शुरू गर्ने भन्ने थियो । किनभने त्यत्रो वर्ष जेलमा खेर फालेको थिएँ ।

  • चन्द्रमा हेर्ने चाहना किन हुन्थ्यो नि ?

दिउँसो साढे तीन बजे कोठामा पसिसक्नुपथ्र्यो । बिहान ६ बजे बाहिर निस्कन पाइन्थ्यो । १७ वर्षसम्म मैले कहिल्यै पनि चन्द्रमा देख्ने अवसर नै पाइनँ ।

विदेशबाट फर्कनेले आफूसँग ल्याउने निश्चित परिमाणको सामानमा भन्सार नलाग्ने व्यवस्थाका कारण ‘भरिया’ पेशा फस्टाएको थियो । गरीब र बेरोजगार युवाले विदेश भ्रमणको मौका र सामान ल्याइदिए बापत ज्याला पाउँथे । व्यापारीले विना भन्सार नेपाल भित्रिएका त्यही सामान बढी नाफामा स्थानीय बजारमा बिक्री गर्थे । यसरी शुरू भएको ‘पोके व्यापार’ पछि सुन र लागूपदार्थ तस्करीमा जोडिन पुग्यो ।

लामो समय नेपाल प्रहरीको लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाइको नेतृत्व गरेका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी नेपालमा लागूपदार्थसहित सबै तस्करीमा झिटीगुन्टा व्यापारको प्रमुख भूमिका रहेको बताउँछन् ।

“सुन र लागूऔषध तस्करी यति विस्तार हुनुमा झिटीगुन्टाको प्रमुख हात छ” मल्लले भने, “पहिले कपडा र इलेक्ट्रोनिक सामान तस्करीका भरियाहरू पछि लागूऔषध र सुन तस्कर बने ।”

स्थानीयका अनुसार, सत्यदेवीका गणेश लामा भन्ने व्यक्ति व्यापारीको ‘भरिया’ बनेर हङकङ, बैंकक् र सिंगापुर आउजाउ गरिरहन्थे । पछि उनी लागूपदार्थका कारोबारीसँग जोडिन पुगे । थाइल्यान्ड जेलबाट रिहा भएर आएपछि उनी अहिले काठमाडौंमा बसोबास गर्छन् । गणेशसँग जोडिएर उत्तरी धादिङका एकपछि अर्को व्यक्ति लागूपदार्थ तस्करको भरिया बन्न पुगे ।

पूर्व डीआईजी मल्ल मनाङबाट लमजुङ र गोरखा हुँदै लागूपदार्थ तस्करीका भरियाहरू धादिङसम्म पुगेको बताउँछन् । “आफूले गरेको कारोबार र आफ्नो संलग्नता बारेमा बाहिर कुरा नजाओस् भनेर विश्वास गरेको नजिकको व्यक्ति वा नातेदारलाई लैजाने गरेको देखिन्छ । धादिङ सत्यदेवीको हकमा पनि त्यस्तै भएको देखिन्छ” मल्लले भने, “भरिया बनेर लागूऔषध तस्करीमा छिरेका केही व्यक्ति अहिले अन्तर्राष्ट्रिय स्तरमै गिरोह चलाउन सक्ने पनि भएका छन् । तर कमाउने भन्दा पनि जीवन बर्बाद गर्ने संख्या ठूलो छ ।”

मल्ल लागूऔषध कानून कार्यान्वयन इकाइको प्रमुख हुँदा थाइल्यान्ड, इन्डोनेसिया, सिंगापुर भ्रमण गरेर लागूपदार्थ तस्करीमा नेपालीको संलग्नता बारेमा अध्ययन गरेका थिए ।

“घले (मानसिंह) को घटनापछि इन्डोनेसियाले नेपालीलाई दिंदै आएको अन अराइभल भिसा बन्द ग¥यो”, मल्लले भने । मल्लका भनाइमा नेपालको लागूपदार्थ तस्करीमा संलग्नहरूको पाकिस्तान ‘कनेक्सन’ अनौठो छ ।

लागूऔषध कानून कार्यान्वयन इकाइमा दुई दशकभन्दा बढी समय काम गरेका पूर्व प्रहरी नायब उपरीक्षक गोपीकृष्ण पनेरुले लागूपदार्थ तस्करीमा पाकिस्तान कनेक्सनको पाटो स्पष्ट पारे । उनका भनाइमा तान्जानियाली पति मुसासँग मिलेर लागूऔषध तस्करीमा संलग्न रहेकी धादिङ सत्यदेवीकी साहिंली भनिने गोपी तामाङले सो गाउँबाट धेरैलाई भरिया बनाएकी हुन् । पनेरु भन्छन्, “अहिले पनि साहिंली र मुसा मिलेर पाकिस्तान र अफगानिस्तानलाई आधार बनाएर अष्ट्रेलियादेखि यूरोपसम्म लागूपदार्थ तस्करी गर्ने गर्छन् ।”

प्रहरीले ३१ चैत २०६५ मा गोपी तामाङको काठमाडौं बालाजुमा रहेको घरमा छापा मारेर तीन तान्जानियालीसहित नौ जनालाई पक्राउ गरेको थियो । त्यसवेला धादिङ सत्यदेवीका डोलकुमारी तामाङ, मइसाङ तामाङ, अनिता गुरुङ, नरेश तमाङ पक्राउ परेका थिए । छापामार्ने काममा संलग्न पूर्व डिएसपी पनेरुले साहिंली आएको सूचनाको आधारमा छापा मारिएको तर उनी नभेटिएको बताए । पक्राउ परेका व्यक्तिहरुबाट १० हजार ६ सय अमेरिकी डलर र केहि लागू पदार्थ बरामत भएको थियो ।

गरीबीले भरिया

अहिले आएर भने सत्यदेवीमा लागूपदार्थ बोक्न जाने भरिया लगभग भेटिन छाडेका छन् । विदेशमा नमारिएकाहरू लामो समय जेल सजाय काटेर बाँकी सजाय माफी पाएर घर फर्कन थालेका छन् । अहिले पनि यस गाउँका मानिस संसारका विभिन्न जेलमा कठोर सजाय भोगिरहेका छन् ।

सत्यदेवी गाउँ

थाइल्याण्ड दूतावासका अनुसार, सन् २०१५ मा लागूपदार्थ ओसारपसारमा संलग्न भएको आरोपमा ५७ जना नेपाली थाइल्यान्डका जेलमा थिए । त्यसमा धादिङका मात्रै ३१ जना थिए । त्यसमा पनि उत्तरी धादिङको दार्खा, सत्यदेवी, तिप्लिङ, सेर्तुङ र झार्लाङका २४ जना थिए । अनौठो के छ भने तीमध्ये पनि नुवाकोटसँग सीमा जोडिएको तत्कालीन सत्यदेवी गाविसका मात्रै १७ जना थिए ।

विदेशमा बन्दी जीवन बिताउँदै आएका नेपालीसँग समन्वय गर्ने गैरसरकारी संस्था बन्दी आदानप्रदान सन्धि नेपालका अनुसार, लागूपदार्थ कारोबारमा संलग्न अभियोगमा मकाउ, चीन, श्रीलंका, इन्डोनेसियामा १–१ र सिंगापुरको जेलमा दुई नेपाली बन्दी छन् । ती सबै उत्तरी धादिङका बासिन्दा हुन ।

सत्यदेवीका प्रियतम तामाङ अहिले सिंगापुर जेलमा छन् । २०६२ पुसमा उनी सिंगापुरको एक होटलबाट पक्राउ परेका थिए । २०७६ असोजमा सत्यदेवीको बसलामा भेटिएका प्रियतमका भाइ आयुषले आफ्नो दाजुलाई राम्रो रोजगारीको लोभमा एजेन्टहरूले फसाएको बताए । उनले भने “साथमा भेटिएको केही पनि होइन रे, सँगै रहेको कोरियन साथीहरूले पोलेको भन्ने छ ।”

सत्यदेवीका पूर्व प्रधानपञ्च समेत रहेका सन्धि नेपालका अध्यक्ष वीरबहादुर तामाङका भनाइमा, पचासको दशकको जस्तो अवस्था अहिले छैन । “यो गलत काम हो भन्ने धेरैले बुझे । पक्राउ पर्दा लामो समय काराबास हुन्छ, मृत्युदण्ड पनि हुनसक्छ भन्ने धेरैले बुझे । त्यसैले भरिया बन्न जाने काम अहिले करीब करीब बन्द नै भएको छ” वीरबहादुरले भने, “लुकीछिपी छिटफुट कोही जाँदै होलान् तर खुल्लमखुला जाने क्रम रोकिएको छ ।”

तीन दशकअघि उत्तरी धादिङका गाउँमा लागूपदार्थ बोक्ने भरिया हुन जानु कति स्वाभाविक थियो भन्ने दृष्टान्त बताउँछन् स्थानीय एक शिक्षक । गणेशकुण्ड उच्च माध्यमिक विद्यालयका नेपाली शिक्षक गोपाल फ्युवा विद्यार्थी हुँदा आफू पनि झण्डै भरिया बनेको बताउँछन् । २०७६ असोजमा फ्युवाले भने, “त्यस वेला लागूपदार्थ बोक्ने भरिया हुन जानु अरू सामान बोक्न गए जस्तै सामान्य मानिन्थ्यो । दशैं खर्च जुटाउन भनेर पनि युवाहरू जान्थे ।”

पूर्व डीआईजी मल्ल अहिले पनि समस्या नसकिएको बताउँछन् । “पहिलो जस्तो लाइन लागेर जाने अवस्था नभएको मात्रै हो, अहिले पनि जाने क्रम रोकिएको छैन” मल्लले भने, “पहिले भन्दा बढी संगठित भएको कारण बाहिर आउन कम भएको मात्रै हो ।”

साविकको सत्यदेवी गाविस हालको खनियाबास गाउँपालिका–५ का वडाध्यक्ष बुधराम तामाङ चाँडो धनी हुने लोभमा गाउँका धेरै युवा फँसेको बताउँछन् । “दलालले कता कता पु-याएर के के गरे थाहा नपाउनेहरू लोभमा फँसे । धेरै पैसा कमाउने आशमा लागूपदार्थ बोके, कोही उतै मरे, कोही मुुश्किलले बाँचेर फर्किए ।”

अहिले पनि सत्यदेवीका धेरै मानिस विदेशी जेलमा छन् । बुधराम भन्छन्, “हामी उनीहरूलाई उद्धार गरौं भन्ने चाहन्छौं । तर विदेशको मामिलामा केही गर्न सकिंदैन ।” अनुरोधको भाषामा यी वडाध्यक्ष भन्छन्, “जेल परेका सबै गरीब, दुःखी हुन् । धनी एउटा पनि छैनन् । लौ न के गर्न सकिन्छ गरौं !”  (खोज पत्रकारिता केन्द्र)

pokhara internet
Comments
Loading...