NTHMC
aama movie

पाताले छाँगो अवलोकन गर्ने पर्यटक बढे (फोटो फिचर)

राजु गिरी, पोखरा । पोखराको छोरेपाटनस्थित पाताले छाँगो (डेभिज फल्स)मा अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । भ्रमण वर्ष २०२० को घोषणासँगै अघिल्लो वर्ष भन्दा यो वर्ष यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । अघिल्लो ३ महिनाको रेकर्ड अनुसार ३ लाख ४६ हजार ८ सय जना पर्यटकले अवलोकन गरेका छन् ।

जसमा असोजमा ५५ हजार ६ सय नेपाली र ३३ हजार ९ सय जना विदेशी गरि ८९ हजार ५ सय जना पर्यटकले अवलोकन गरेका छन् । त्यसैगरि नेपाली १ लाख १ हजार २ सय र विदेशी ३९ हजार ९ सय गरि कात्तिक महिनामा १ लाख ४१ हजार १ सय जनाले अवलोकन गरेका छन् । मंसिर महिनामा ९० हजार ३ सय नेपाली र २५ हजार ९ सय विदेशी गरि कुल १ लाख १६ हजार २ सय जनाले अवलोकन गरेका थिए ।

तथ्यांक अनुसार पाताले छाँगो अवलोकन गर्न आउने पर्यटकको अघिल्लो वर्षको कात्तिकभन्दा यो वर्ष कात्तिकमा २३ हजार ६ सय जना अवलोकन गर्ने पर्यटक बढेका छन् त्यसैगरि अघिल्लो वर्षको मंसिर महिनाभन्दा यो वर्षको मंसिरमा ४४ हजार ८ सय बढि पर्यटकले अवलोकन गरेका छन् । अवलोकन गर्ने पर्यटकमा आन्तरिक पर्यटकको संख्या निकै धेरै छ । विदेशि पर्यटकमा छिमेकी राष्ट्र भारतबाट बढि संख्यामा घुम्न आउने गरेको त्यहाँका कर्मचारी सुरेन्द्र सापकोटा बताउँछन् ।

यहाँ रहेको पाताले छाँगोबाहेक परम्परागत घुमाउने घर, बुद्धको मुर्ति, वरिपरि फूलका बगैँचा, पैसा(सिक्का) अड्ड्याउने पानी पोखरी, हिमालका कृत्रिम दृष्य तथा विभिन्न जनजातिका पोसाकसहितको आकारमा फोटो खिच्ने ठाउँले गर्दा पर्यटकलाई झनै लोभ्याउने गरेको छ । करिब ७ रोपनी जग्गामा रहेको यस स्थानमा सिसाको पुल समेत निर्माण गरिने पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पातले छाँगो वा डेभिज फल्सको नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा अवस्थित छ । गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना वर्षायाममा झनै हेर्न लायकको छ । एउटा प्राकृतिक सुरुङ्गको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तलसम्म झर्दछ । सन् १९६१ मा फेवा तालमा पौडदै गर्दा डेभी नाम गरेकी एक जना स्विस पर्यटक अप्रत्यासित रुपले आएको बाढीको कारण पानीमै बगीन र उनलाई उसको श्रीमानले जोगाउन सकेनन् । ती महिलाको शरीर कहिले पनि भेटाउन नसकिएका कारण पाताले छाँगोलाई सोही महिलाको नामबाटै डेभिज फल्स नामाकरण गरिएको स्थानियले बताउँछन् ।

अवलोकनका लागि टिकट दर प्रतिविद्यार्थी १० रुपैँया, नेपालीलाई २० र विदेशीलाई ३० रुपैँया तोकिएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?