ICAS
Rara

कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनीहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए ।

govnotice

सांसद विमला विकले बाँके बर्दिया क्षेत्रमा अझै बाढीपीडितका समस्या समाधान गर्न माग गरे । सांसद भूमिप्रसाद त्रिपाठीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा देखिएको मुआब्जा समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसद भैरवबहादुर सिंहले बझाङको एकमात्र राजमार्ग साँघुरो र कालोपत्र पनि गुणस्तरहीन भएको भन्दै स्तरोन्नतिको माग गरे ।

सांसद मीनबहादुर विश्वकर्माले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न माग गरे । सांसद यशोदा गुरुङ सुवेदीले छाउपडी गोठ भत्काएर मात्र यसको समाधान नहुने भन्दै मनमस्तिष्कबाट छाउपडी प्रथा हटाउन सबै लाग्नुपर्ने बताए ।

parichay

सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले यस विषयले संसदमा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताइन् ।

सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताए । उनले त्यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद आशाकुमारी विकले बझाङको साइपाल गाउँपालिकामा हिमपातका कारण यातायात अवरुद्ध हुँदा भोकमरीको समस्या देखिएको भन्दै तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी समस्या समाधान गर्न माग गरे ।

सांसद एकवाल मिँयाले भारतबाट नेपालमा सामान आयात गर्दा प्रहरीबाटै अवरोध हुने गरेको गुनासो गर्दै सहज व्यवस्था गर्न माग गरे । -रासस

pokhara internet
Comments
Loading...