पोखरामा कोरोना परीक्षण गराउनै सकस

प्राविधिकमा कोरोना देखिएपछि संकलित स्वाबको रिपोर्ट आउन ढिलाई

सन्तोष बस्याल

पोखरा / 

पोखरा १४ कि एक महिला विगत ६ दिन देखि रुघाले ग्रसित छिन् । लामो समय सम्म रुघाले सतायो, गन्ध आउन छाड्यो र ति महिलालाई कोरोना परीक्षण गर्छु भन्ने लाग्यो । परीक्षणको व्यवस्थापन पक्षका विषयमा बुझ्न उनी गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय धाइन् । पटकपटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फोन समेत गरिन् । तर पैसा तिरेर भए पनि परीक्षण गर्छु भन्दा परीक्षण गर्न पाइनन् ।

ICAS

अहिले यस्तो समस्या ति महिलामा मात्रै होइन पोखराका प्राय सबैमा छ । कोरोना परीक्षण गर्नेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाइन लाग्छ । संकलित स्वाबको रिपोर्ट सार्वजनिक गर्न समेत प्रतिष्ठानलाई हम्यहम्य परिरहेको अवस्था छ । प्रदेशमा हाल ३५ सय स्वाब पेण्डिङमा रहेको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्य बताउँछन् ।

गण्डकी प्रदेशमा हाल दुई वटा प्रयोगशालाबाट कोरोना परीक्षण गरिएको छ । जसमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५ जना प्राविधिकमा कोरोना संक्रमण देखिएपछि हाल प्राविधिकहरुको अभाव भएकाले स्वाबको रिपोर्ट आउन चार दिन भन्दा अधिक लाग्ने गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारले उल्लेखनिय काम गरिरहेको बताउँदै आएका छन् । परीक्षणका लागि यथोचित मात्रमा ल्याबको व्यवस्थापन गरी दक्ष स्वास्थ्यकर्मी मार्फत कोभिड १९ को परीक्षण गरिएको उनले यसअघि नै बताएका हुन् । तर यहाँ स्वास्थ्यमा समस्या भएर कन्फर्मका लागि पैसा तिरेर भए पनि कोरोना परीक्षण गर्न नागरिकले पाएको अवस्था छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग कन्ट्याक ट्रेसिङमा परेकाहरुको परीक्षणको विषयमा बुझ्दा महानगरलाई जिम्मा दिएको भन्छ । यता महानगरले भने प्राविधिकको समस्या भएकाले संकलित स्वाबको परीक्षण रिपोर्ट सार्वजनिक गर्न नै धौधौ भइरहेको बताउँदै आएको छ ।

थप जानकारीका लागि परिचय नेटवर्कले स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्मालाई पटक पटक सम्पर्क गर्न खोज्दा फोन उठेन । यस्तै, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रमुख अर्जुन आचार्यले पनि फोन उठाएनन् ।

यता पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले भने कोरोनाको लक्षण भएकाहरुलाई मात्र तत्कालका लागि परीक्षण गर्न सकिने बताएका छन् । उनले कन्ट्याक ट्रेसिङमा परेकालाई लक्षण भएमात्र परीक्षण गर्न आग्रह गरेका छन् । सामान्य रुघाखोकी लाग्यो भन्दैमा परीक्षण गर्नुपर्ने आवश्यकता नरहेको उनको भनाई छ ।

पोखरा महानगरपालिकामा कात्तिक ५ गते मंगलबारको तथ्याङक अनुसार १ हजार ७ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । जसमा ९ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् । ७ सय ७३ जना निको भएर घर फिर्ता भएका छन् । पोखरा महानगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको आचार्यले जानकारी गराए ।

pokhara internet
Comments
Loading...