NTHMC

क्लासिक चिल : माझीकुनाको उत्कृष्ट गन्तव्य (ब्लग)

सन्तोष बस्याल

पोखरा / 

roma

गत हप्ता बुधबारको कुरा हो । अफिस बिदा भएकाले साथीहरूसँग रमाइलो गर्न पोखरा ३१ माझीकुना पुगेँ । १० वर्षे पोखरा बसाईमा अहिलेसम्म नपुगेको ठाउँ थियो मेरा लागि । शहरको कोलाहल वातावरणबाट केही पर तर, नजिक रहेको माझीकुनाका बारेमा सुनेको मात्र थिएँ । लकडाउनका समयमा नजिकबाट नियाल्ने अवसर मिल्यो । प्राकृतिक सुन्दरताले भरिएको माझकुनाको विशेषता भनेकै बेगनास ताल लाग्यो । मन्द गतिमा विकास हुँदै गरेको त्यस ठाउँमा रेष्टुरेण्ट व्यवसाय गर्नेहरूको पछिल्लो समय घुइँचो लागेको छ ।

ICAS

शान्त, मनोरम र प्राकृतिक दृश्यको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको अभाष हुन्छ । युवायुवतीहरूका लागि उत्कृष्ट गन्तव्य बन्दै गरेको माझीकुनासम्म पुग्न बाटोको समेत राम्रो व्यवस्था छ । केही स्थानीयदेखि जिल्ला बाहिरका मानिसले समेत रेष्टुरेण्ट तथा होटल व्यवसाय सञ्चालन गरेका छन् । ताल पारी जंगल छ । चराचुरुङगीको आवाजमा मीठो धुन गुञ्जिँदा मन प्रफुल्ल हुन्छ । एक चोटी पुगेपछि फेरि फर्किएर जाने इच्छा जोकोहीलाई हुन्छ ।

‘क्लासिक चिल’ माझीकुनामै अवस्थित एक रेष्टरेण्ट हो । सञ्चालनमा आएको भर्खर एक वर्ष पुगेको छ । तर युवायुवतीहरूका लागि आर्कषक बन्दै गएको छ । ९ आना जग्गामा फैलिएको क्लासिक चिल तालको छेउमै भएका कारण पनि आर्कषण बढेको सञ्चालक गणेश परियार बताउँछन् । गणेश परियार अर्थात् संगीतकर्मी । पोखरा ३१ स्थायी बासिन्दा परियारका केही गीतहरू युटयुबमा समेत सार्वजनिक छन् । गायन पेशासँगै अहिले उनी व्यवसायमा समेत संलग्न भएका छन् ।

स्टेजमा माइक समातेका परियार अहिले ग्राहकको सेवामा तल्लिन भएको पाइन्छ । जग्गा भाडामा लिएर १५ लाखको लगानीमा आफैले निर्माण गरेको क्लासिक चिल उनलाई प्राण भन्दा प्यारो छ । अधिकांश समय उनी रेष्टुरेण्टमै बिताउँछन् । उनलाई कोलाहल वातावरण भन्दा शान्त मनोरम वातावरण मन पर्छ । त्यसैले रेष्टुरेण्ट समेत पोखरा शहरदेखि करिब ४० मिनेट पर माझीकुनामा सञ्चालन गर्ने निर्णय गरे । उनको निर्णयसँगै क्लासिक चिलले समेत राम्रै गति लिएको छ । गणेशको रेष्टुरेण्टलाई सम्झेर पोखरालगायत अन्य स्थानबाट पुग्नेहरूको जमात बाक्लै छ ।

गणेशका सम्पूर्ण परिवारनै रेष्टुरेण्टमा खटिएका छन् । उनलाई दाइसँगै भाइको राम्रो साथ मिलिरहेको छ । तीन दाजुभाइको प्रेमको संगम हो ‘क्लासिक चिल’ ।

लाइभ संगीत विस्तारै ट्रयाकको लयमा हिड्न थालेपछि पछिल्लो सांगीतिक अवस्था उनलाई मन परेन । आउने स्टेज कार्यक्रममा समेत सहभागी हुन छाडे । विदेश जाने सोच समेत नआएको होइन गणेशलाई । विदेशिनकै लागि काठमाडौं समेत हाकिएका थिए । आयल्स पढे तर पछि उनको मनमा कुरा खेल्यो ।  ‘दुःख गरेर आयल्स पढियो । परिवारदेखि टाढा अर्कैको देशमा पाखुरा बजार्यो । पैसा कमाइएला तर मनको सन्तुष्टि मिल्न गाह्रो छ ।’, गणेशले भने, ‘त्यसपछि पोखरा फर्किए । रेष्टुरेण्टको कन्सेप्ट आयो । अनि मात्र खोलिएको हो क्लासिक चिल ।’

parichay
रेष्टुरेण्ट ‘क्लासिक चिल’ माझीकुना

रेष्टुरेण्ट डेकोरेसनको सम्पूर्ण जिम्मेवारी उनले आफ्नै काँदमा राखे । केही नयाँ गरौँ भन्ने सोच गणेशमा पहिले देखिको हो । सुरुमा बाँसको छाप्रो बनाए । हावाले छाप्रो उडाएपछि काठको प्रयोग गरे । काठ गणेशले पहिले देखिनै सुकाएर राखेका थिए । समय जुर्यो क्लासिक रेष्टुरेण्टमा प्रयोग गरे ।

क्लासिक चिल अझै औपचारिक रूपमा सुरुवात नभएको उनी बताउँछन् । बैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने सोच थियो । लकडाउन भयो । लकडाउनका कारण सबै क्षेत्र प्रभावित हुँदा उनको रेष्टुरेण्ट समेत अछुतो रहने । केही महिना बन्द गरे । सहज भएपछि अहिले क्लासिक चिल खोलिएको छ । गणेश भन्छन्,‘रेष्टुरेण्ट निर्माणको काम अझै बाँकी छ । ग्राहकहरू आउन थाल्नुभएको छ । अहिले उहाँहरूलाई फर्किन नपर्ने गरी व्यवस्थापन गरिरहेका छौं । समस्या त छ तर सुरक्षात्मक तवरले रेष्टुरेण्ट सञ्चालनमा छ ।’

क्लासिक चिलको विशेष परिकार भनेकै माछा हो । उसो त माझीकुना पुगेपछि माछा नखाने को होला र ? तर त्यहाँ युवाहरूको सामान्य बोलीचालीको शब्दलाई प्रयोग गरी रेष्टुरेण्टको नामै चिल राखिएकाले सम्झिनेहरूको संख्यामा वृद्धि भएको छ । गणेश ठट्याउली गर्छन्,‘हाम्रोमा प्राय चिल हुने ग्राहक आउनुहुन्छ । उहाँहरूको मन जित्न हालसम्म सफल भएकै छौँ । आगामी समयमा समेत केही परिस्कृत गर्दै रेष्टुरेण्टलाई अगाडि बढाउने सोचमा छु ।’

क्लासिक चिललाई ब्राण्ड बनाउँदै लैजाने गणेशको योजना छ । तालको छेउ वा डाँडाकाँडामा रेष्टुरेण्ट स्थापना गरी शाखा विस्तार गर्ने सोचमा छन्, गणेश । प्राकृतिक सुन्दरतासँगै संगीतमा रम्नेहरूका लागि उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यसहित लागि परेका गणेश रेष्टुरेण्ट व्यवसाय सँगै संगीतलाई समेत अगाडि बढाइरहेका छन् ।

गणेश परियारका केही गीतहरु :

 

वारी पारी :

 

 

 

 

pokhara internet
Comments
Loading...