NTHMC
aama movie

विदेश जानु भनेको पलायन हुनु मात्र होइन पलाउनु पनि हो

सन्तोष बस्याल, पोखरा । 

‘डाँफे नाचेर

फुल कहाँ फुल्छ र हाँगै भाँचेर…….’

एक समयको चर्चित लोकदोहोरी गीत हो । सर्जक बुद्धिसागर बस्याल र बिमाकुमारी दुराको आवाज रहेको उक्त गीत नसुन्ने सायदै होलान् ।

‘बाजेको पालामा…’, ‘छमछम पाउजुले…’, ‘रैछेउ मजाकी…’, ‘क्या राम्रो तानसेन बजार…’, ‘चिठी लेखेर…’, ‘कुरा साँचो छ…’ लगायतका दोहोरी गीतले उबेला राज गरेको थियो । सबै गीतका सर्जक बुद्धिसागर बस्याल थिए ।

नेपाली साँगीतिक क्षेत्रमा विस्तारै आफ्नो नाम उँचो राख्दै गएका बस्याल एक्कासी हराउन पुगे । दर्शक, श्रोता र उनको दुरी लम्बियो । सुनिरहने आवाजलाई श्रोताले सुन्न पाएनन् । उनी क्यानडा हाँकिए ।

‘कोही कतै केहीका लागि जान्छ भने सिकाइका लागि पनि हुन्छ । मानिस भएर जन्म लिएपछि घुम्नुपर्छ । संसार बुझ्नुपर्छ ।’ गाउँघरमा अक्सर भन्ने गरिन्छ, ‘छोरो भएर जन्मेपछि संसार खानुपर्छ ।’

यही भनाईले बस्यालको जीवनको मोड परिवर्तन गरिदियो । कतिपयले उनलाई गीतसँगीतबाट हार खाएर विदेश पलायन भएको सोचे । तर उनी यस्तो सोचलाई नकार्छन । भन्छन, ‘विदेश जानु भनेको पलायन हुनु होइन पलाउनु पनि हो ।’

‘लाहुरे…’, ‘बुढेसकालैमा…’, ‘फाटेको लुगा…’, ‘तानसेनको बजारमा…’, ‘परेलीमा…’ लगायतका लोक तथा आधुनिक गीतहरुका सर्जक बस्याल पचासको दशकमा चर्चित थिए । गायक, कम्पोजर र सञ्चारकर्मीको रुपमा उनले आफ्नो परिचय बनाएका थिए ।

जीवन एक सिकाई हो । हामी हरपल केही न केही सिकिरहेकै हुन्छौं । हिँड्दा, भेट्दा, काम गर्दाको सिकाई जो कोहीमा हुन्छ । तर मुग्लानमा बसेर नेपाली गीत सँगीतको क्षेत्रमा योगदान पुर्याउने अनुभव बस्यालको अलिक ज्यादा नै छ ।

अंगे्रजी साहित्यका विद्यार्थी बस्याल विश्व साहित्य, संगीतमा रुची राख्ने मध्ये पर्छन । भन्छन्, ‘मान्छे भनेको यात्री हो, दोबाटोमा राखिएको शालिक होइन ।’

हालै मात्र नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भ गरिएको छ । नेपाल कला, साहित्य, संस्कृति, ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरताले भरिपुर्ण देश । धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि सबैको रोजाईमा पर्ने देश । तर प्रचारप्रसार जति हुनुपर्ने हो त्यो देखिँदैन । बस्याल भन्छन्, ‘विदेशमा भएका हर नेपालीले नेपालको विषयमा प्रचारप्रसार गर्ने काम गरिरहेका छन् ।’

अहिले उनी नेपालमै छन् । नेपालका विभिन्न क्षेत्रका भिडियो बनाउँदै नेपाल बाहिरका मुलुकहरुमा प्रचारप्रसार गर्ने उनको सोच छ ।

स्याङजा जिल्ला मालुङ उनको जन्मथलो । रेडियोमा गीत असाध्यै सुन्न मन पराउने । रेडियोमा मान्छेको आवाज सुनेर उनी चकित हुन्थे । कसरी मान्छे अट्यो होला भन्ने जिज्ञासा उनमा लागिरहन्थ्यो । उक्त जिज्ञासा मेट्न पछि उनले केहिसमय रेडियोमा समेत काम गरे ।

अचम्म स्वभावका थिए बस्याल । गाउँ छँदा माथि आकाशमा जहाज उडेको दृश्य देखेर उनलाई लाग्थ्यो मालुङभन्दा पर पनि ठूलो दुनियाँ छ । विकट गाउँमा हुर्किएका बस्यालका लागि आकाशमा तारा हेरेर सपना देख्नुपर्ने समय थियो त्यो ।

उनको बालापन अरुको बालापन जस्तै माटोमा खेलेर हुर्किएन । सानैदेखि साराङ्गी बोकेर हिँड्थे । गाउँघरमा हुने गीत प्रतियोगिता प्रथम हुनासाथ आमासँग खुशी साट्ने स्वभावका थिए बस्याल । ‘बनको काँडा हेर । जुन काँडालाई कसैले तिखार्दैनन् । उ आफै तिखारिन्छ । तँ पनि एकदिन आफैं तिखारिन्छन । हरेश नखा’, आमाले उतिबेला भनेको वाक्य सम्झिए ।

आमाको उक्त वाक्यले आज उनको जीवनमा परिवर्तन ल्याएको छ । देश देखि पर रहेर पनि नेपाली सांगीतिक क्षेत्रको विकासमा लागिरहेका छन् । यहाँको सांस्कृतिक विषयलाई समुन्द्रपार प्रचारप्रसार गर्नमा उनी लागिरहेका छन् । भन्छन्, ‘माध्यम फरक होलान् कहिले गायकको रुपमा, कहिले संचारकर्मीको रुपमा, कहिले फिरन्तेको रुपमा । यहाँ हरेक मान्छे स्टोरी टेलर हो । मैले गायक तथा संचारकर्मको रुपमा समाजको देशको कथा बोलेको हुँ । यो क्रम अहिले पनि जारी छ ।’

उनी आफ्नो जीवनको प्रेरणा आफ्नो गाउँठाउँ रहेको बताउँछन् । सात कक्षासम्म मालुङमा पढेर थप अध्ययन उनको पाल्पामा भयो । त्यतिबेला देखिनै गाउँथे बस्याल । राष्ट्रिय स्तरको गीत गाउन पहिलोपटक काठमाडौं गए । त्यतिबेला क्यासेटको जमाना आइसकेको थिएन । गीतसँगीतको क्षेत्र अहिलेको जस्तो फराकिलो थिएन । यसबाटै बाँच्न सक्ने समय त्यतिबेला कम थियो । यसको मतलव अहिले सबै कलाकार बाँच्न सक्छन भन्ने होइन् ।

पाल्पा हुँदा ताकानै बस्यालले गीत निकालेका थिए । त्यसपछि उनी पढाइको शिलशिलामा काठमाडौं बसे । काठमाडौं बस्दा सुरुमा उनलाई धेरै गाह्रो भयो । जसरी उड्न लागेको जहाजले भुइ छोड्दा सबैभन्दा धेरै शक्ति प्रयोग गर्छ । उनले पनि काठमाडौं बसाइको क्रममा त्यस्तै शक्ति प्रयोग गर्नुपर्यो । पाल्पा र स्याङजामा त्यतिबेला चर्चित बनेका बस्याललाई काठमाडौंमा संगीत शिक्षा लिनुपर्छ भन्ने लाग्यो र दुई वर्ष शास्त्रिय संगीतको क्लास लिए ।

बस्यालले संचारकर्मी बनेर लोकदोहोरी कार्यक्रम पनि चलाए । उनलाइ उक्त कार्यक्रमले गीतसँगीतमा लाग्न झन प्रेरित गर्यो । गाउँमा सारंगी बजाएर हिड्दा बिग्रयो भन्ने गाउँलेहरुबाटै आज उनी सम्मान थाप्छन् । भन्छन्,‘ त्यतिबेला मलाई गाउन भोक थियो । जस्ले जे भने नि मतलव थिएन । पछि बजारमा मेरा गीत आउन थाले । गाउँलेनै केटो ठुलो मान्छे बनेछ भन्दा खुशी लाग्थ्यो ।’

२०५६ सालमा बस्यालले ल्याएको शुभविवाह बोलको गीतले म्युजिक नेपालबाट बेस्ट दोहोरी अवार्ड प्राप्त गर्यो । उनले गाएको बुढेसकालैमा गीतको अहिले पनि चर्चा हुन्छ । वृद्दका जीवनकथालाई प्रस्तुत गरिएको उक्त गीत उनको जीवनको चर्चित गीत मध्येको एक हो ।

समाजमा भएका कुरीतिको विरुद्द लागि अगाडी बढ्दा मुर्खको ट्याग लगाइन्छ । सारंगी बोकेर हिड्दा मान्छेहरु मुर्ख भन्थे । त्यतिबेला सारंगी बोकेर हिड्नुनै समाजको विरुद्ध थियो । अहिले त्यस्तो छैन । उनले अघिल्लो पुस्तादेखेर गीत गाए । अहिलेको पुस्ताले उनले गाएको देखेर सुनेर गीत गाए ।

बस्याल भन्छन्, ‘परिवर्तन समय अनुसार हुँदै जाने कुरा रहेछ । लोकदोहोरी क्षेत्रमा बाढी आएको छ । कतिपय गाउने भोकका कारण दोहोरी क्षेत्रमा आएका छन् । कतिपय चर्चाको भोकले आएका छन् । कतिपय पैसाका कारण यो क्षेत्रमा आउनुपरेको छ ।’

नेपाली कलाकार र कालाकारिता प्रति सरकारको दृष्टिकोण फितलो पाउँछन् उनी । भन्छन्, ‘लोकदोहोरी क्षेत्रमा एकदिन बाढी कम होला । थिग्रिएपछि सांगितिक क्षेत्रपनि सफा होला । संगीत उद्योग बनिसकेको छैन ।’ सामन्य जीविकोपार्जन गर्ने बाटो मात्र संगीत भएको देख्दा उनलाई दुःख लाग्छ । यसमा सरकार गम्भीर भएर लाग्नुपर्ने उनी बताउँछन् ।

हालसम्म आफूले कति गीत निकालेँ भन्ने गन्ती गरेका छैनन उनले । बरु अब के गर्न सकिन्छ भन्ने सोचाई आउने बताउँछन् ।

‘यात्रीले कति पाईला हिड्यो भनेर गन्दैन । गन्तव्यमा पुग्यो कि नाँई त्यसको हिसाब गर्छ । म यात्री हुँ । यात्रा जारी छ’,उनले अन्त्यमा थपे।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?