बलिको विरोध – प्रेम र करुणा कि राजनीतिक, धार्मिक अभिष्ट

विश्व सिग्देल /

दशैं आउन पाएको हुँदैन ‘धर्मात्मा’हरु, पशु अधिकारवादीहरु र केही तथाकथित राजनीतिकर्मीहरु बलि दिन पाइदैन भनेर जर्याकजुरुक उठीहाल्छन् । मानौं राजनीति गर्न, कसैको मानमर्दन गर्न, कसैको आस्था माथी प्रहार गर्न यहि दशैँ कुरेर बसेका हुन्छन् । ताज्जुब त त्यतिखेर लाग्छ जब हिंसाको जगबाट राजनीतिको सिंढी चढेकाहरु समेत खसी-बोकाको रगत पोखिँदा दया र करुणाका आंसु बहाउँछन ।उनिहरुलाइ यो ख्याल छ छैन हिन्दुहरुका चाडबाडमा चडाइने बलि भन्दा इस्लाममा बकरीद र इसाइयतमा ‘थ्यांक्स गिभिङ डे’मा धेरै गुना बढी बलि चढ्छन । यद्यपि थ्याङ्क्स गिभिङ डे इसाइहरुको सामाजिक पर्व हो तथापि बाइबलमा पञ्चबलि मागिएको, बाह्रवटा निखरा थुमाको बलि मागिएको प्रसंग म स्वयंले पढेको छु, बाइबलमा हिन्दुहरुको पञ्चबलीमा चड्ने कुखुराको सट्टा ढुकुर रहेछ फरक त्यत्ति हो ।

मानव सभ्यताको शुरुवाती दौरमा कुनै धर्म थिएन, कुनै संप्रदाय थिएन । अत्यन्त पूराना मानिएका हिन्दु ,यहुदी ,पारसी बोन आदि धर्महरु पनि सभ्यताको बिकाससंगै सिर्जित आष्था अवधारणा र मूल्यहरु हुन् । तर त्यो भन्दा अगाडी मानिसहरुले जुन विश्वाश, आष्था र परम्पराको जगमा जीवन चलायो प्रकारान्तरले त्यो पनि एउटा धर्म थियो, जीवन मुल्य थियो ,समग्रमा जीवन पद्धति थियो यसलाइ प्राकृत धर्म भनेर बुझ्दा सजिलो होला । अहिले पनि संस्थागत रुपमा अफ्रिकामा र  अमेरिकी, अष्ट्रेलियन र रसियन आदिवासी, नोम्याड्सहरुमा पाउन सकिन्छ । हिजोसम्म हाम्रै कुसुन्डा, राउटे चेपाङहरु पनि प्राकृत धर्मनै मान्थे भने भारतको पूर्वोत्तर प्रान्तहरुमा इसाइ अतिक्रमण पूर्व त ति करोडौं आदिबासीहरु हिन्दु बौद्ध पक्कै थिएनन् ।त्यहि प्राकृत धर्मका संस्कार, संस्कृति परम्परा युगौं देखी अभ्यास गर्दागर्दै हाम्रो रगत बनिसकेको अवस्थामा हामीले देवता फेर्‍यौं, नाम फेर्‍यौं ,पहिचान फेर्‍यौं ,सबै फेर्‍यौं तर फेर्नै नसकिने गरी अन्तरघुलित संस्कार जीवनमूल्य फेर्न सकेनौं, यसकारण प्राकृतधर्मले स्थापित गरेका मूल्यहरुमध्येको एक बलिप्रथा हामी सबैको साझा भएर बसेको छ । सबै धर्ममा नाम फरक भए पनि, ढंग फरक भए पनि,  सारमा हो त बलिनै । तसर्थ तैले दिएको बलि बेठीक र मैले गरेको ठिक भनेर सोच्नु बेइमानी हुन्छ ।

ICAS

मेरो बा मांसाहारी भएको मलाइ अलिअलि थाहा छ, जीवनका पछिल्ला लगभग तीन दशक वहाँ शाकाहारीनै रहनु भयो तर कहिल्यै मासुलाइ छि: छि: दुर् दुर् गर्नु भएन । हाम्रो निमित्त मासु किनेर ल्याइ दिनुहुन्थ्यो, काटकुट गरेर भान्छामा पुर्‍याइ दिनुहुन्थ्यो । दशैंको हरेक अष्टमीमा वहाँ आँगन लिपपोत गरेर अचानो माथी भेट्नो सहितको घिरौंला, कुभिण्डालाइ छेस्काका खुट्टा बनाई उभ्याएर बलि दिनहुन्थ्यो । सबैको घरमा बोका च्याङ्ग्रा काटिएका बेला आफ्नो आँगनमा भने कुभिण्डो काटिँदा हामीलाइ बाहिरबाट ल्याएको मासु जति खाएपनि रमाइलो कहिल्यै लागेन । बा जीवित भएको भए मैले सोध्ने थिएँ – बलिको पूरै विधि पुर्याएर कुभिण्डो ठुन्क्याउनु र बोका ठुन्क्याउनुमा प्रकारान्तरले के फरक थियो ? भौतिक हिंसा र भाव हिंसामा कति पो फरक हुन्छ र ? मैले सोध्न नपाउंदै वहाँले संसार छाड्नु भयो, प्रश्न बाँकी नै रह्यो ।

आचार्य सान्त रक्षित तिब्बत पुगेपछी मात्र तिब्बतमा बुद्धधर्मको बिस्तार संभब भयो । प्रकाण्ड बिद्वान पद्मसंभवले आंफूबाट संभव नभए पछी मित्र सान्त रक्षितलाइ तिब्बत बोलाउनु भएको थियो । बोन मुल्यका पांच आधार – मांस, मदिरा, मैथुन,  मुद्रा र मस्त्यलाइ बुद्धधर्मका आचारहरुमा कुशलतापूर्वक फ्युजन गरिदिए पछि तिब्बतमा बुद्धधर्म डढेलोझैं फैलिएको हो । महायानी गुम्बाहरुमा गहुं, जौ का पिठा बाट मृग जरायो आदि जनावरहरुका प्रतीकहरु पूजास्थलमा राखिनु पनि कुभिण्डो, घिरौंलाका प्रतीक बनाएजस्तै बोन मूल्यबाट लिइएका बलिका प्रतीक हुन् भनिन्छ । थेरबादीहरु छाडेर बौद्धधर्मका करीब सबै सम्प्रदायमा वशुबध निषेधनै भएको देखिएन । बौद्धकालमै बुद्धले यस सम्बन्धमा केही खुकुलो गरिदिनु भएको भनेर पनि भनिन्छ । ‘मासुको लागी आग्रह नगरिएको’, ‘निम्त्याउंदा मासुको लोभ नदेखाइएको’ र ‘यत्तिको घरमा मासु सधैं पाक्छ, भनिरहनुपर्दैन’ भनेर नठानिएको तीन अवस्था बाहेक मासु निषेध हुने बताइन्छ।

चाणक्यका शिष्य कामन्दकको ‘कामन्दकिय नीतिशास्त्र’मा शिकार र पशुवधको औचित्यको रोचक प्रसंग छ । जसरी ब्राम्हणहरुको मुख्य धर्म यज्ञ-यज्ञादी र शिक्षण हुन्थ्यो, त्यसैगरी राजा, महाराजा र क्षत्रियहरुको यज्ञ भनेकै शिकार हुन्थ्यो । शिकारको तयारी बडो होशियारी र बुद्धिमत्तापुर्ण ढङ्गबाट हुने बताइएको छ । शिकारमा जानु पहिले सेनाले बनको छनोट गरेर रथ, घोडा खच्चरका लागी आबश्यक फाँडफुँड र बाटोको मर्मतसंभार गर्थे, यस पछि जागीरे शिकारीहरु जङ्गल पुगेर जनावरहरुको प्रकार, संख्या, भाले, पोथी, बच्चा, बुढाहरुको फरक फरक गणना गर्थे । प्रजनन योग्य, गर्भ रहेका, बच्चा बाहेक पोथीको अनुपातमा बढी भएका भालेहरु, भूगोलको अनुपात, रोगी, अपाङ्गहरु, बुढाबुढीहरुमा टांचा लगाएर छाड्थे। भाले बाघलाइ न्यूनतम ४० र पोथी बाघलाइ २५ वर्गमिल जङ्गल चाहिन्छ, भाले पोथीको अनुपात १/७ हुन्छ ।

त्यसपछी राजा, महाराजा, क्षत्रियहरु जङ्गलमा गएर टांचा हानिएका तत् तत् जनावरहरु शिकार गर्थे । गर्भिणी, बच्चा, जवान पोथी मारिनु जघन्य पाप मानिन्थ्यो, अपराध मानिन्थ्यो । त्यस्तो शिकारबाट प्राप्त मासु प्रसादको रुपमा बाँडिन्थ्यो भने यज्ञहरुमा त्यसरीनै छनोट गरियका पशुहरु होमिन्थ्यो, यो पुण्यकार्य भित्रै पर्ने मानिन्थ्यो । प्रकारान्तरले यो सृष्टिको सन्तुलन र पोषण रक्षार्थ गोडमेल हुन्थ्यो भने गोडमेलबाट प्राप्त वस्तु शाकाहार सरहनै मानिन्थ्यो ।

मांसाहार व्यक्तिको रुचि प्रवृत्ति चित्तवृत्तिको विषयमात्रै होइन, यसलाइ भूगोल र जलवायु तथा जिउनुको कठिन चुनौति र सङ्घर्षले पनि निर्धारण गरेको हुन्छ ।जा पानीहरु अन्नको निमित्त जमीनको अभाब र भएको जमीन पनि उर्बर नहुंदा तथा समुन्द्रले घेरिएको हुंदा माछा वा समुन्द्री खानामा बढि निर्भर छन् । चीनका तिब्बत सिञ्जियांग, मञ्चुरिया आदि भूभाग र मंगोलिया, साइबेरीया, अलस्का तथा हाम्रै हिमाली क्षेत्रका बासिन्दालाइ भूगोल र जलवायुको प्रतिकूलताले मासुमा निर्भर बनाएको छ । तिब्बती लामा धर्ममा र काश्मिरका ब्राम्हणहरुको श्राद्धमा समेत मासु प्रयोग हुन्छ। इस्लामको अभ्युदयनै मरुभूमिको पृष्ठभूमिमा भएकोले मासुको प्रधानतालाई अस्विकार गर्ने ठाउँनै रहँदैन । भारतमा नेपाली ब्राम्हणलाइ ब्रात्य अर्थात जाती च्युत भएको ब्राम्हण भन्छन्, यसको कारण नेपाली ब्राम्हणहरुले गर्ने मांसाहार रहेछ । कतिपय अवस्थामा सृष्टिका संरचनाहरुलाइ स्वस्थ क्रियासिल उर्वर राख्न पनि हिंसा जायज हुने रहेछ ।भुलबस दुइ गेडा बिउ संगै परेर जोल्ठिएर उम्रेको मकैको दुइ बोट मध्य एउटा उखेल्नै पर्छ । हामीले यो हिंसा र आहार प्रणालीलाइ कत्तिको विवेक अनुशाशन र जीवन रक्षाको मर्यादा भित्र रहेर गर्छौं, सवाल यहि रहेछ ।

म मासु खान्छु, काटमारका नाममा बिस्कुन खान आउने चरोलाई समेत ताकेको छैन । एक छाक झोल झ्याम्टो गरेपछी एक महिना जति हेर्न मन पनि लाग्दैन । तर म फेरी भन्छु, अक्कलझुक्ल खान्छु ।

मांसाहार धार्मिक भन्दा पनि सामाजिक न्यायका दृष्टिकोणबाट बढी उठाइनुपर्ने समस्या हो । संसारमा उत्पादित अन्नको ८० प्रतिशत मासुजन्य पशुपंक्षीहरुको निमित्त खपत हुंदो रहेछ । हामीहरु आफैँलाई नपुग्ने हुँदा लैनोलाई बाहेक अन्न खुवाउने चलन छैन, घाँस-परालमै बल गरिन्छ । तर पश्चिमीहरुले आफ्नो जमीन मात्र हैन दक्षिण अमेरिकाका ब्राजिल, अर्जेन्टिनाका बर्षाबन फांडेर आफ्ना मासु प्रयोजनका पशुहरु पाल्न अन्न उत्पादन गर्न लगाउँछन् । KFC का संसारभरका आउटलेटहरुमा ब्राजिलमा पाल्न लगाइएका कुखुरा मात्र प्रयोग हुन्छन भन्ने सुनेको छु । यसरी एकातिर सात अरब मध्य झण्डै पाँच अरब मानिस बिहान रुखोसुखो खाएर बेलुका भोकै सुत्नु पर्ने अवस्था छ भने अर्को तर्फ मासुको प्रयोजनको पशुका निमित्त दशौं अरब मानिसलाइ ढुक्कसंग खान पुग्ने अन्न खर्च भैरहेछ ।

प्रसिद्ध लेखक केशब प्र. भट्टराइले आफ्नो एउटा लेखमा भारतिय जलरणनीति बिज्ञ ब्रम्ह चेलानीको Water Peace and War भन्ने पुस्तककa केहि उद्धरण राख्नु भएको थियो । वहाँसंग क्षमा माग्दै त्यसैको केही सूत्र राख्दछु ।

  • एउटा व्यक्तिले सरदर पिउन दुई तीन लिटर र नुवाइ धुवाइ आदि जोडदा दुई सय लिटर जति प्रत्यक्ष खर्च गर्दो हो ।
  • प्रत्यक्ष-अप्रत्यक्ष खपत सबैको हिसाब राख्दा शाकाहारी व्यक्तिका लागि दैनिक सात सय बाह्र लिटर र मांसाहारीका लागि दैनिक झण्डै छ हजार लिटर पानी खर्च हुन्छ ।
  • एक केजी अन्न, सागपात, फलफूल उत्पादन गर्न सरदर बाह्र सय लिटर पानी र एक केजी मासु उत्पादन गर्न बीस हजार लिटर पानी खर्च हुन्छ । यो आँकडा तत् तत् अन्न वा मासु उत्पादन गर्दा हुने पानीको कूल प्रतक्ष्य-अप्रतक्ष्य खपतको हो ।

अब हेरौं आधा आवादी भोकै रात बिताउँछ, प्यासै दिन बिताउंछ तर अझै थप अरबौंलाइ पुग्ने अन्न र पानी मांसाहारीहरुले चट गर्छन। मानवतामाथि यहाँ भन्दा ठुलो उपहास र मजाक कुनै अर्को हुन सक्ला ? यसैले शाकाहारी हुनु धार्मिक प्रश्न मात्र हैन, करुणा र दयाको मात्र प्रश्न पनि हैन, यो त सामाजिक न्यायको प्रश्न पनि हो ।

यति गम्भिर र मानवीय प्रश्नलाइ राजनैतिक, साम्प्रदायिक अभिष्टसंग जोडेर हेरिनु हुँदैन । यसलाई भिन्न धार्मिक मूल्य भएका एक अर्काको मानमर्दनको विषय पनि बनाइनुहुँदैन । विश्वनै अन्न र पानीको अभावले आक्रान्त भैरहेको बेला हामीले शाकाहारी जीवनपद्धति स्थापित गर्न सकियो भने यही अनुपातमा जनसंख्या वृद्धि हुँदै गयो भने पनि थप पचास बर्षको निमित्त पानी र अन्नको अभाव हुने सम्भावना रहँदैन ।

राजा भर्तृहरिले राजपाठ छाडेर जङ्गल जानेबेला भनेका थिए “प्रकृतिमा बाह्रैमास, तीनसय पैंसठ्ठी दिनकै लागी पर्याप्त पुग्ने खाद्य बनमा बनस्पतिहरुले उपलब्ध गराउँछन्, औषधी नभएको र खाद्य नभएको कुनै वनस्पति छैन । तिनै खान्छु, ओढारमा सुत्छु, सेउलाहरुको ओछ्यान बनाउछु, झरनाको शीतल पानी पिउँछु ।” अर्थात वनस्पतिमा छरपस्ट भएर रहेको पूर्ण आहारहरुको खोजिनीति हुनु पर्यो । तिनीहरुलाइ जनजनका भान्छामा खाद्यसामाग्रीको रुपमा प्रवेश गराउनु पर्‍यो । चीन कोरिया र मेक्सिकोले पृथ्वीमा उपलब्ध यावत वनस्पतिबाट खाद्यबस्तुको खोज- अनुसन्धान गर्दा रहेछन । चीनमा साधारण रायोको सागको पात उमालेको सूपले मेरो दिनभरीको भोक हराएको थियो, एक थाल मासुभातको विकल्प दिएको थियो, पोषण दिएको थियो । रायोको साग त हामी पनि खाइरहेका छौँ तर हामीले सही ढंग पहिचान गर्न सकेनौँ । हामीले हाम्रो अन्न, सागपात, फलफूल उत्पादन प्रणालीलाइ प्रोत्साहन गर्नु अति आबश्यक छ, अध्ययन-अनुसन्धान जरूरी छ । हाम्रै जङ्गलमा छरपस्ट सितलचिनी (Moringa), करीपत्ता विश्व बजारमा ब्यापार गरेर अरबौँ कमाउँछ, जनतालाइ खाद्य र पोषण उपलब्ध गराएको छ र शायद आफ्नै नाममा पेटेन्टपनि सुरक्षित गरिसकेको छ ।

आज मांसाहार गरीब र निम्नमध्यम वर्गको छनौट भएको छ । हिजो धनीले खाने मासु आज गरीबकहाँ पुगेको छ र हिजो गरीबले खाने सागपात आज धनीको सोख बन्ने अवस्था छ, किनभने ८०/१०० पर्ने एक पाउ कुखुराको झोलझ्याम्टोले एक छाक गुजारा हुन्छ र त्यतिनै सागपात दूधदही जुगाड गर्न पाँचसयले नपुग्ने अबस्था छ, जबकी पोषण तत्व बराबर हुन सक्छ । शाकाहारलाइ प्रोत्साहन गरी खाद्य र पानीको हकमा हाम्रा नागरिकहरुलाइ भरपेट खुवाएर, प्यास मेटाएर विश्व बजारमा पुग्न सक्ने हो भने समृद्धि खोज्न विश्व बैंक, भारत, चीन, यूरोप, अमेरिकातिर कचौरा लिएर चहार्नै पर्दैन ।म सबै तथ्याङ्कमा बोलिरहेको छैन, तर ती भन्दा टाढाको आशय पनि छैन । मैले कसैको भावनामा चोट पुर्‍याउने मनसाय राखेको पनि छैन । लेख्ने क्रममा भएका मेरा कमजोरी वा पढ्नेले गलत बुझ्दिनाले त्यस्तो समस्या आउनसक्छ, तर त्यसलाई सच्याउन सकिन्छ ।

चाहे इस्लाम होस्, इसाइ होस् वा हिन्दू होस्; सबै धर्मले पशुमात्र होइन वनस्पति लगायत जलथल सबैको सुरक्षा गर्नु पर्ने, संरक्षण-संवर्धन गर्नु पर्ने बताउँछन् । बौद्ध जैनहरुको त धर्मको जगनै अहिँसा र करुणा भयो । बीच बीचमा आएका बिभिन्न ब्याख्या अपब्याख्याले तथा भूगोल, जलवायु आदि विविध परिस्थितिले मांसाहार कहीँ सोख त कहीँ बाध्यता पनि भएको छ । तर कुनै पनि तर्कले हिंसाको समर्थन गर्न भने सकिँदैन । धर्मसँग संस्कार र परम्पराको पनि महत्वपूर्ण भूमिका हुने हुँदा अहिँसा र शाकाहारी जीवन पद्धतिको प्रवर्धन पनि गर्दै जाउँ, परम्परा र संस्कारलाइ पनि शाकाहारको अनुकुल बनाउँदै जाउँ । तर चर्को क्रान्तिकारिता नदेखाउँ, संवेदनशील मुद्दाहरुलाइ आफ्नो अभिष्ट साध्ने माध्यम नबनाउँ ।

pokhara internet
Comments
Loading...