Parichay add

विजय ढकालले जनयुद्धको बेला आमालाई लेखेको कारुणीक पत्र

लड्नुभन्दा अर्को विकल्प हामीसँग बाँकी छैन आमा

म यहाँसम्म सञ्चै छु । बाको खवर के छ ? सञ्चो बिसञ्चोको खवर लिन यताबाट पनि कोशिस गरिरहेको छु । तर यतिवेला साह्रै गाह्रो । अहिले हाम्रो घर भताभुङ्ग भएको अवस्थामा छ । हाम्रो मात्र होईन लाखौँ परिवारको यस्तै अवस्था छ । हामी त अहिलेसम्म सुरक्षित छौँ । सयौँ साथीहरुले शहादत प्राप्त गरिसक्नु भएको छ । कयौँ जेलमा र वेपत्ता हुनुभएको छ । ति परिवारहरुले पनि आफुलाई धानिरहेका छन् र दुश्मनको अन्त्यको दिन गरिरहेका छन् । परिस्थिति फेरिन्छ सधै यस्तै रहदैन । त्याग र वलिदानको बाटो हिडेपछि कहिले सजिलो त कहिले अफ्ठ्यारो हुन्छ ।
युद्धको बेला यस्तै हो । विचार नउठेको वा वर्ग चेतना आफन्त वा नातागोता पनि काम नलाग्न सक्छन् ।कसैले सहयोग नगर्न सक्छन् । सवैभन्दा राम्रो कुरा आफ्नै खुट्टामा उभिएर बाँच्न सक्नुपर्छ । अन्तिम भरोसा पार्टीको गर्नुपर्छ । कुनै न कुनै ढङ्गले साथीहरुले सहयोग गर्नुहुनेछ । हाम्रो घर आईरहने मान्छेहरु अवश्य पनि घटेका होलान ? बा पनि घर नहुँदा केहि अफ्ठ्यारो हुनसक्छ । अलिकति बाको स्वास्थ्यको समस्या हो । ढाडले उकालो ओरालो सजिलोसँग हिड्न मिल्दैन तर पनि विस्तारै बानी पर्दै जानेछ । युद्धमा लागेका मान्छेहरु सुरक्षित छन बा मात्र असुरक्षित हुने भन्ने कुरै आउँदैन । धेरै चिन्ता नलिनुहोला धैर्य गर्नुहोला । जति दुख कष्ट आईपरेपनि सत्रुको अगाडी आँशु नझार्नुहोला । तपाई आत्तिनुभयो भने बहिनीहरु अत्तालिन्छन् । बालाई अफ्ठ्यारो पर्छ । कमाईधन्दामा लागेका अरुका छोराछोरी हेरेर मन नखसाल्नु होला । कसैको करबलले होईन,यो मैले रोजेको बाटो हो । त्यसैले यो बाटो अलग छ । म आफ्नो र परिवारको लागि मात्र नभएर देश र जनताको मुक्तिको निम्ति हिडेको तपाईहरुलाई थाहै छ । आफ्नै लागि बाँच्नु र अरुका लागि बाँच्नु फरक हुन्छ । अन्यायका अगाडी आत्मसमर्पण गरेर बाँच्न मबाट संभब छैन । त्यसैले लड्नु भन्दा अर्को बिकल्प हामीसँग बाँकी छैन ।
बहिनीहरुले पढ्दै भएपनि पार्टीलाई युुद्धलाई सहयोग गर्नु । युद्धमा सहभागी हुनु । युद्धका धेरै रुपहरु हुन्छन् बन्दुक लिएर लड्नुमात्र युद्ध हो भन्ने होईन । मौका मिलेसम्म बेलाबेलामा खवर गर्दै गरुला । त्यतातिर आउने मान्छे पाए चिठि पनि लेखौँला । शाहि जल्लादहरुले धेरै सताउन थाले भने घर नबस्नु नै जाति होला । हत्याराहरुको केहि भरोसा हुँदैन । दुईचार महिना अन्तै डेरा खोजेर बस्दा पनि हुन्छ । हाम्रो घर सवैले चिनेको र टार्गेट भएर पनि यस्तो भएको हो । अन्य ठाउँमा त्यस्तो हुँदैन । सवैले नचिनेको ठाउँमा खासै समस्या पर्दैन । पोखरामा मात्र अलिकति समस्या परेको हो ।
मैले संकलन गरेका पुस्तकहरु र फोटाहरु जसरी पनि सुरक्षित राखिदिनुहोला । धेरै साथीहरुका फोटा छन् । ति दुश्मनका हात परे भने उनिहरुलाई चिन्न र खोज्न धेरै सजिलो पर्छ । पुस्तकहरु यतिवेला एकै ठाउँमा राख्दा राख्ने मानिसहरु आतंकित हुनसक्छन् बरु दुईचार वटाका दरले धेरै मानिसहरुका घर राख्नुहोला । एकदुई ठाउँमा दुश्मनले फेला पारिहाल्यो भने अरु जोगिन्छन् । आमा हतास नहुनुहोला । बाको र बहिनीहरुको मन कमजोर बनाउने काम नगर्नुहोला । हाम्रो बाटो अफ्ठ्यारो छ । म जनताको विचमा सुरक्षित छु । आमा र बहिनीहरुले कुनै चिन्ता लिनुपर्दैन ।
अहिले यति बाँकी भेटमा
तपाईको छोरा
विजय ढकाल
२०५८ चैत्र ३० चितवन
कास्कीका चर्चित युवा नेता विजय ढकाललाई २०६१ पौष २९ गते कास्कीको निर्मलपोखरीको साम्मी गाउँमा सेनाले गोली हामी घाईते बनाएर तिनचार घण्टा चरम यातना दिएर हत्या गरेको थियो ।

pokhara internet
Comments
Loading...