मुस्ताङबाट १५ प्रतिशत मात्रै च्याङ्ग्रा पोखरा भित्रियो

खसी बजारमा खसीबोकाको मासु ५५० देखि ६३० रुपैयाँ सम्म वित्रिवितरण हुँदै

सन्तोष बस्याल
पोखरा / 

महान चाड विजया दशमीको छेकोमा हामी छौं । कोरोना भाइरसले थिलो परेको अर्थतन्त्रलाई उठाउनुपर्ने जिम्मेबारी एकातर्फ छ भने परिवारसँगै सुरक्षित हुँदै महान पर्व मनाउनुपर्ने अर्कोतर्फ । यता दशैंलाई भनेर वर्षौ मिहिनेत गरेर तयार पारिएका भेडा च्याङ्ग्राको बजार समेत पहिलेजस्तो छैन ।

दशैं पर्वले आगन टेकीसकेको छ । तर कोरोना भाइरसको सन्त्रास आम मानिसमा उत्तिकै देखिन्छ । दशैं मनाउने कि आफै स्वस्थ रहने नागरिक दोधारमा छन् । सरकारले यसपालीको दशैं जहाँ छौं त्यही मनाउन आदेश दिएको छ । गृहमन्त्रालयले ७७ वटै जिल्लालाई कडाई गर्न निर्देशन दिएको छ ।

ICAS

यस्तैमा दशैं पर्वलाई लक्षित गर्दै मुस्ताङबाट च्याङ्ग्रा पोखरा भित्रिएका छन् । कोरोनाका कारण पोखरामा पहिले जस्तो च्याङ्ग्रा भित्रिएका छैनन् । गत वर्षको तुलनामा एक तिहाई जसो भेडा च्याङ्ग्रा मात्रै पोखरा भित्रिएका हुन् ।

तिब्बतबाट यस वर्ष भेडा च्याङ्ग्रा हालसम्म पनि मुस्ताङ भित्रिएको छैन । स्थानिय भेडा च्याङ्ग्रालाई नै पोखरा ल्याइएको हो । पहिलेको तुलनामा १० देखि १५ प्रतिशत भेडा च्याङ्ग्रा पोखरा आएको छ । अरु हुम्ला, जुम्ला र दार्चुला लगायतका ठाउँबाट ल्याइएको पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले जानकारी गराएका छन् ।

उनका अनुसार कोरोनाका कारण यसपाली व्यवसायमा समेत गिरावट आएको छ । मानिस मानिस बिचको सम्पर्क कम भएकाले पनि यस्तो हुन गएको उनी बताउँछन् । गत वर्ष सम्म पोखरामा करिब ६० करोडबराबरको च्यांग्रा खपत हुने गरेता पनि यसपाली त्यसको आधाउधी पनि पुग्न मुस्किल पर्ने श्रेष्ठको बुझाई छ ।

गत वर्ष सम्म खसीबोका भेडा च्याङ्ग्रा गरी करिब १८ हजारको संख्यामा खपत हुनेगथ्र्यो । अहिले ८ देखि १० हजार मात्र रहेको श्रेष्ठले बताए । श्रेष्ठ अस्वस्थ प्रतिस्पर्धाले व्यवसायमा मर्का परेको बताउँछन् । पोखराको खसीबजार भित्र च्याङ्ग्राको मासु प्रति केजी ७५० रुपैयाँ बिक्री गरिन्छ । तर बाहिर बजारमा आफू खुशी मूल्य निर्धारण गर्दा उपभोक्ता समस्यामा परेको उनी बताउँछन् ।

खसी बोकाको मासू समेत आफूहरुले ५५० देखि ६३० रुपैयाँ सम्ममा बेच्ने गरेको उनले जानकारी गराए । व्यवसायका हिसाबमा गत वर्ष जस्तो नरहेको उनले बताए । कोरोना महामारीले २० प्रतिशत नागरिक गाउँघर तर्फ लागिसकेकाले व्यवसायमा समस्या आएको उनको भनाई छ ।

पोखरामा च्याङ्ग्रा सबैभन्दा पहिला मित्रराष्ट्र चीनको तिब्बतबाट ल्याउने गरिन्थ्यो । विस्तारै मुस्ताङको उच्च हिमाली भेगबाट ल्याउन थालियो । अहिले मुस्ताङको आम्दानीको स्रोत समेत च्याङ्ग्रा व्यवसाय बनेको छ । खेतीपातीमा समस्या हुन थालेपछि त्यहाँका किसानले च्याङ्ग्रा पाल्न थाले । फलस्वरुप अहिले चीनबाट कम मुस्ताङबाट अधिक च्याङ्ग्रा आउने गरेको जानकारहरु बताउँछन् ।

पोखरामा १ सय ५० वर्ष पहिला देखिनै च्याङग्राको मासु खान थालिएको इतिहास छ । पहिले हिमालपारीको नुन पोखरा ल्याउने र पोखराको अन्नपात हिमालपारीको जिल्लामा लैजाने प्रचलन थियो । यो चलनसँगै च्याङग्राको मासु खाने परम्पराको शुरुवात भएको जानकारहरु बताउँछन् ।

मुस्ताङ देखि दशैंका बेला करिब एक महिनाको हिडाँई पश्चात च्याङ्ग्रा पोखरा आउने गरेको छ । मुस्ताङको उच्च हिमाली क्षेत्रमा व्यवसायिक रुपमा पालिएका च्याङ्ग्रा लाई घरघरबाट किनेर संकलन गरी पोखरा भित्राइन्छ । मुस्ताङ, म्याग्दी, पर्वत, कास्की हुँदै बिक्री वितरणका लागि पोखरा ल्याइने व्यवसायीहरु बताउँछन् ।

तस्बिर : प्रेम थापा, परिचय नेटवर्क

pokhara internet
Comments
Loading...