कोरोनामुक्त पौडेलको अनुभव, “महामारीमा सामाजिक दायित्व”

भरतराज पौडेल

पोखरा / 

असोज २८ गते विहानै कार्यलयमा एउटा मिटिङ्ग थियो । अलिक टाउको दुखे जस्तो महशुस भए पनि बिहान कार्यालयमा मिटिङ्ग एटेण्ड गरे । दुखाई अझै बढ्दै गएको महशुस भएपनि कार्यलयको कामको चापले खाना अफिसकै क्यान्टिनमा खाएर कार्यालयमै काम गरिरहें । दिनको १२ : ३० वजेतिर टाउको दुखाई सहन नसक्ने अवस्था भए पछि घरतिर फर्किएर आराम गरे । परिवारका सदस्यहरुले सिजनल ज्वरो होला भनेकाले त्यसै तर्फ पनि म बहकीएँ । ज्वरो आउने छाड्ने, पसिना आउने भैरहेको थियो । तर सिटामोल ८/८ घण्टाको फरकमा खाएकाले खासै असहज भएन । भोलिपल्ट केही वर्ष पहिला टाइफाईड हुँदाको जस्तो लक्षण लागेकाले एक दिन पछि रगतको सामान्य जाँच गराउन मन लाग्यो । दिनभर टाउको दुख्ने ज्वरो आउने, पसिना आउने / छाड्ने शरिरमा दुखाई भए पछि (कोरोनाको आसंका भन्ने) लागेर छुट्टै कोठामा आइसोलेसनमा बसिसकेको थिए । भोलि पल्ट स्वास्थ्य कर्मीलाई आफुलाई ज्वरो आएको जानकारी गराएर RBC, WBC Widel + Est गरेसँगै PCR Test पनि गरियो ।

ICAS

दिउँसो देखि भाईरल ज्वरोको लागि प्रयोग हुने ५ दिनको एन्टिवायोटिक प्रयोग गरे पछि अवस्था सामान्य थियो । जव बेलुका ५ः०० वजेतिर स्वास्थ्यकर्मी मित्रले रिपोर्ट पोजेटिभ आएको जानकारी गराए । मनमा ठुलै बज्रपात परे जस्तो भयो । केही क्षणपछि आफैलाई सम्हाल्न पुगे । केही भएको त छैन किन हतास भएको म जस्तो लाग्यो । हरेक आधा घण्टामा आधा गिलास तातो पानी पिउने बाहेक थप उपचार केही गरिन । त्यसपछि परिवारका सदस्यको परिक्षण गराउने क्रममा जिवन संगीनीलाई पनि पोजेटिभ देखियो ।

म संक्रमीत भएको समाचार स्थानीय पत्रिकामा प्रकाशित भए । त्यसपछि कम्तीमा करिव २० मीटरको दुरीमा रहेका छर छिमेकीहरु हाम्रो परिवारसंग बोल्न गाह्रो मान्ने, विहान देख्ने वित्तिकै खिस्स हास्दैै अभिवादन गर्ने ति ओठहरु सदाझै भन्दा अलि फरक भएको अनुभुत हुन्थ्यो । सातौं दिनमा सबै भन्दा नजिकको छिमेकीले फोन गरेपछि पहिलो वाक्य नै उनलाई तिमी त पापी दाई भन्ने निस्कियो । हतारिएर सुरक्षित रुपमा कोठा नजिकै दुरी कायम गरेर बोलाउन आएपछि वढी नै खुसी भए ।

त्यसपछिका दिनहरुमा छरछिमेकबाट फोन आउने बोल्ने भएपछि मनको हुटहुटी एऋच् ल्भनबतष्खभकहिले आउछ भन्ने लाग्यो । हरेक ४÷४ दिनमा दुईपटक निजी ल्याब र दुई पटक सरकारीमा परिक्षण गराएँ तर हरेक पटक सन्देश नेगेटीभ रिजल्ट पोजेटिभ आयो । दशै मान्न पाइन्छ भन्ने हुटहुटी थियो । तर मनले चाहेपनि रोगले दशै आइसोलेसनमा मनाउन बाध्य भइयो । पाँचौ परिक्षणले रिपोर्ट नेगेटिभ आएपछि ७ दिन पछि कार्यालयको नियमित काममा फर्किएको छु । अझै पनि शरिर पूर्ण स्वास्थ्य भएको अनुभुति हुनसकेको छैन ।

यस विचमा आफ्नो ज्यान जोखिममा पारेर काम गर्ने स्वास्थ्य कर्मिप्रति त मेरो गुनासो छैन सम्मान छ, तर कुरो व्यवस्थापनको हो । नीजिमा ३ जना स्वास्थ्य कर्मिलाई १०० जनाको स्वाब डेढ घण्टामा लिन्छन् तर पाँच जना सरकारी स्वास्थ्य कर्मीलाई २०० जनाको स्वाब लिन ६ घण्टा लाग्छ । रिपोर्ट आउन ७ घण्टा लाग्छ मानौ फैसला दिंदा सम्म न्यायको औचित्य समाप्त भइसकेको हुन्छ ।

त्यस्तै ब्यवस्थापकीय समस्याले हाम्रा आई.सि.यु, भेन्टिलेटर, परीक्षण प्रयोगशाला स्थापनामा हामी चुकेको हुनुपर्छ । कोरोना महामारीकै विचमा हाम्रो समाजमा देखिएका दुई भिन्न दृष्टिकोण र प्रकृतिले हाम्रो सामुहिक दायित्व बोधमा बाधक बनेर महामारीलाई थप प्रसारित गराईरहेका छन् ।

पहिलो संक्रमित प्रति नकरात्मक दृष्टिकोण, दोस्रो यही कारण संक्रमित र उनिहरुका परिवारजन वा आफ्न्तले सत्य तथ्य लुकाउने प्रवृति, शिक्षित र चेतनशील भएपनि हाम्रो सामाज कति संकुचित छ भन्ने यर्थाथताको साक्षीं उपचारमा संलग्न स्वास्थ्य कर्मीहरुप्रति केही व्यक्ति वा समुदायबाट गरिएको दुब्र्यवहारबाट प्रष्ट भएकै छ ।

अझै पनि कुनै व्यक्ति संक्रमित भएमा उसको परिवारलाई अछुतो जस्तो व्यवाहार गर्ने, भाडामा बस्नेलाई निकालिदिएका निन्दनीय उदाहरण प्रशस्तै भेटिएकाछन् । रोगले भन्दा पनि समाजले गर्ने नकारात्मक व्यवहारको कारण मानसिक रुपमा कमजोर भएका कयौ उदाहरणहरु भेटिन्छन् । जबसम्म समाजले अरु रोग लागेका व्यक्तिलाई जस्तै कोभिड १९ लागेको विरामीलाई पनि होसला प्रदान गरी उत्प्रेरित गर्ने वातावरण सृजना हुदैन तबसम्म कोरोना प्रति आम जनमानसमा त्रासवी कायमै रहने छ ।

त्यसैले त आफु प्रतिष्ठित रहिरहन र सामुहिक गतिविधिमा सहभागि भैरहन वास्ताविकता लुकाउने गरेको पाइन्छ । केही असामाजिक व्यक्तिहरुको नकरात्मक दृष्टिकोणका कारण कोरोना संक्रमणको यथार्थ लुकाउने प्रवृति हामीकहाँ समुदायस्तरमा फैलिदो संक्रमण नियन्त्रणका लागि थप चुनौति बनीरहेको छ ।

नबुझेर वा अज्ञानताका कारण यस्तो गर्नुलाई सामान्य मानिए पनि शिक्षित बुझक्कड तथा समाजमा प्रतिष्ठित वर्गबाट यस्तो व्यवहार गरिनुलाई सामान्य रुपमा लिन सकिदैन ।

हामी आम नागरिक आफ्नो ठाँउबाट उत्तरदायी बन्दै वर्तमान विषम परिस्थितिसँग जुध्नु परेको छ । यसका लागि संक्रमितलाई अछुतो जस्तो व्यवहार गर्ने संकुचित मानसिकता त्याग्नु आवश्यक छ । त्यस्तै संक्रमण लुकाउँदै मन्द विष सरि समुदायमा फैलाउने दुष्प्रवृति पनि त्याग्नु उतिकै जरुरी छ । जसरी आफु र आफ्नो परिवारलाई सुरक्षित राख्ने दायित्व हामीमा छ । त्यसैगरी समुदाय, समाज र राष्ट्रलाई सुरक्षित राख्न दायित्व पनि हाम्रै हो । यसर्थ क्वारेन्टिन र होम आइसोलेसनको अवधारणालाई इमान्दारीता पुर्वक पालना गरौं ।

pokhara internet
Comments
Loading...