‘जिन्दगी हसाउन सरकारी अनुदानको आश नगरौं'(भिडियो र फोटो सहित)

सन्तोष बस्याल
पोखरा / 

कोरोना भाइरसका कारण नेपालमा १ सय २० दिन लकडाउन भयो । लकडाउनले प्रायः सबै क्षेत्रमा असर पुगेको छ । व्यवसाय ठप्प हुँदा आम्दानीमा ह्रास आएको छ । कति मानिस बेरोजगार भएका छन् ।

roma

दैनिक गुजारा गर्न समेत धौधौ भइरहेको छ । तर, पोखरा २४ को लौरुकमा रहेको बिजी एग्रो एण्ड ब्रिडिङ फर्म प्रा.लि. लाई भने कुनै असर पुगेको छैन । लकडाउन भएको एक महिना अघिदेखि सञ्चालनमा आएको फर्ममा भर्खरै उत्पादन गर्न थालिएको छ ।

ICAS

पोखराका दुई तन्नेरी बिष्णुहरि न्यौपाने र गुरुप्रसाद पौडेलले २० रोपनी क्षेत्रफलमा सञ्चालनमा ल्याएको फर्ममा हाँस पालन गरिएको छ । चिनको उन्नत जातको करिब पाँच हजारको संख्यामा रहेको हाँसबाट उनीहरूले आम्दानी लिन थालेका छन् । अहिले बिजी एग्रो फर्ममा हाँसको बच्चा र मासु माग्नेहरूको घुइँचो लाग्न थालेको छ ।

ठूलो संख्यामा हाँस पाल्ने योजना सुरुमा उनीहरूको थिएन । बिष्णुहरि घुम्दै जाने क्रममा लौरुकमा एउटा फर्म खाली रहेको देखे । केही संख्यामा हाँस पाल्ने योजना बनाएका बिष्णुहरिलाई ठाउँ मन पर्यो । तत्काल निर्णय बदल्ने सोच गरे । गुरु प्रसाद सँग सरसल्लाह गरी ठूलो संख्यामा हाँस पाल्ने निधो भयो । फलस्वरुप पोखराकै ठूलो हाँस पालकका रूपमा परिचित हुनपुगे । बिष्णुहरि र गुरुप्रसादको व्यवसायिक सम्बन्ध अहिलेको होइन । उनीहरू विगत १६ वर्षदेखि पोल्ट्री व्यवसायमा समेत आबद्ध छन् ।

भिडियो :

गुरुप्रसाद भन्छन्,‘विष्णुहरि र म पहिलेदेखिका मिल्ने साथी हौँ । हामी पोल्ट्री व्यवसायमा सँगै लाग्यौ । विष्णुहरिले घरमा कुखुरासँगै हाँस पाल्नुहुन्थ्यो । उहाँमा हाँस पालनको विषयमा ज्ञान भएकाले पनि हामीले फर्मकै रुपमा विस्तार गर्ने योजना बनायौ ।’

पंक्षी व्यवसायमा सरल र सहज व्यवसायको रूपमा हाँसलाई विष्णुहरि लिन्छन् । ‘पंक्षी पालनमा सबैभन्दा सहज हाँस जस्तो लाग्यो । कुखुरा भन्दा सहज रहेछ । अरूभन्दा इम्युनिटी पावर समेत यसमा बढी पाइयो’, उनले भने ।

गुरु प्रसाद पौडेल र विष्णुहरि न्यौपाने

पानीमा हिलोमा खेल्ने जात भएकाले हाँसको इम्युनिटी पावर बढेको उनी बताउँछन् । खेर गएको तरकारी, हरियो घाँस खुवाएर पनि हाँस पाल्न सकिने विष्णुहरिको अनुभव छ । उनका अनुसार हाँसले धेरै दाना आफैँले खोजेर खाने भएकाले लागत समेत कम पर्छ । त्यसैले आफुहरूले कृषि फर्ममा हाँसलाई रोजेको उनले जानकारी गराए । करिब डेढ करोड लगानीमा सञ्चालन गरिएको फर्ममा कालो मस्कोबी चाइनिज हाँस र सेतो पेकिङ हाँस रहेको गुरुप्रसादले जानकारी गराए ।

उनका अनुसार सेतो हाँस चल्ला उत्पादनका लागि हुर्काइएको छ भने कालो हाँस मासुका लागि । दानामा समेत आफूहरूले सामान्य गाउँघरमा पाइने मकै ढुटो प्रयोग गरेको उनले बताए । अर्गानिक हिसाबले हाँस पालन गरिरहेको उनको भनाइ थियो । दानाको विषयमा थप्दै विष्णुहरिले भने,‘७५ प्रतिशत आहार हाँसले आफैँले खोजेर गर्छ । घाँस देखि खोलामा हुने लेउ खास हाँसलाई मन पर्ने मध्ये हुन् । २५ प्रतिशत दाना मात्रै हामीले दिने गरेका छौँ ।’

parichay

मकै, भट्ट, तोरीपिना, चामलको धुटो मिसाएको दाना आफूहरूले प्रयोग गर्ने गरेको उनले बताए । दानाको लागतमा कम हुँदा खर्चमा समेत बचत भएको छ । हाँस पूर्णतया चरनमा आधारित पंक्षी भएकाले यसको मासु खान समेत स्वस्थकर रहेको विष्णुहरि बताउँछन् । समूहमा हिँड्ने पंक्षी भएकाले हाँसलाई हेर्न समेत सहज छ । विष्णुहरि र गुरुप्रसादले हाँसकै रक्षाका लागि ४ जना कर्मचारी खटाएका छन् ।

विष्णुहरिलाई सरकारी अनुदानको आशा छैन । उनी झोला भिरेर सरकारको अनुदानको भरमा कृषि पेशामा आबद्ध भएका होइनन् ।

‘व्यवसाय गरी उत्पादन गरौं । व्यवसायबाटै कमाउ । व्यवसायबाट कमाएको दिर्घकालिन हुन्छ । आज एउटा फर्म दर्ता ग¥यो, अनुदान लियो’, उनले भने, ’भोली अर्कै फर्म दर्ता गरी अनुदान खोज्दै हिँड्यो भने कृषिमा कहिल्यै योगदान दिन सकिदैन ।’

कृषि क्षेत्रमा लगानी गर्दा ठूलो मात्रामा कमाई नभए पनि बैंक ऋणमा ब्याजमा सहुलियत भयो भने कृषकलाई राहत मिल्ने उनको बुझाइ छ । विष्णुहरिले हाँसले एक दिनमा एक सय देखि डेढ सय ग्राम दाना खाने बताए ।

उनका अनुसार हाँस मासुका लागि ६ महिनामा तयार हुन्छ । उनले भने,‘अहिले हामीले हाँसको मासु ८ सय रुपैयाँ केजीको दरमा बेच्ने गरेका छौं । यस्तै, भाले हाँस गोटाको दुई हजार ५ सय रुपैयाँ र पोथी हाँस गोटाको १ हजार ५ सय रुपैयाँमा बिक्रिवितरण गर्न थालेका छौं ।’ विष्णुहरिका अनुसार फर्मबाट उत्पादन भएका हाँसको मासु सितलादेवी फ्रेस हाउस सितलदेवी, कुँडहर फ्रेस हाउस कुँडहर चोक, सुरज फ्रेस हाउस खत्रीचोक, चितवन मिट सप्लायर्स न्युरोड, राज फ्रेस हाउस प्रस्याङ र आधुनिक पोल्ट्री एण्ड सप्लायर्स शिसुवा बास्तोला भवनबाट विक्रिवितरण गरिएको छ ।

हाँसको मासु मुटुसम्बन्धी दीर्घरोगीहरूका लागि उपयुक्त रहेको विष्णुहरिले जानकारी गराए । मांसपेशी कम्जोर भएकाहरूका लागि हाँसको मासु वरदान नै साबित भएको उनले बताए । अध्ययनको क्रममा हाँसको मासुले प्रत्यक्ष रूपमा देखिने गरीनै शारिरिक समस्याको समाधान गरेको आफुले पाएको उनको भनाइ थियो ।

सम्झन सक्ने क्षमतामा समेत वृद्धि गराउने हुँदा हाँसको मासु प्रयोग गर्नु फाइदाजनक हुने उनले बताए । हाँसको अण्डाले आँखाको ज्योतिमा सकरात्मक प्रभाव देखाउने हुँदा बच्चादेखि वृद्धसम्मले खान सक्ने उनको बुझाइ छ । हाँसको बोसो समेत स्वास्थ्यवर्दक रहेको उनले बताए । दुई दिनको खुशीका लागि कृषि पेशामा प्रवेश नर्गन विष्णुहरिको नयाँ कृषकलाई सुझाव छ ।

‘रहरका लागि दुईचार वटा मात्र घरमा पाल्ने काम नगर्नुहोला । दीर्घकालिन रूपमा व्यवसायिक क्षेत्रमा लाग्ने गरी आउनुहोस्’, उनले भने,’हाँस व्यवसायबाट घाटा हुँदैन । फाइदा हुने सम्भावना धेरै छ ।’

ठाउँको व्यवस्थापन मिलाएर हाँस व्यवसायमा प्रवेश गर्नेहरूलाई सजिलो हुने उनको अनुभव छ ।

भिडियो/तस्बिर : प्रेम थापा, परिचय नेटवर्क

 

pokhara internet
Comments
Loading...