जापानको स्वास्थ्य प्रणाली – व्यक्तिगत अनुभव

वसन्त गौतम

पोखरा / 

छोरी जन्मेताका आमा जापानमा हुनुहुन्थ्यो । एक साँझ वहाँलाई अचानक वाकवाकी लाग्ने, वान्ता हुने भयो । हामीले एम्बुलेन्स बोलायौं र वहाँलाई अस्पताल लग्यौं । समस्या धेरै ठूलो रहेनछ, रातभरि सलाइन चढाएर आराम गरेपछि ठिक भयो । भोलिपल्ट बिहान छ नबज्दै हामी घर फर्कियौं । अस्पतालमा हामीले चौबीस हजार येन तिर्यौं ।

ICAS

एक रातको सामान्य उपचारका लागि चौबीस हजार येन ठूलो हो तर आमाको स्वास्थ्य बीमा नभएकाले त्यति धेरै तिर्नुपरेको थियो । स्वास्थ्य बीमा भए बढीमा पाँच हजारमात्रै लाग्थ्यो । यो पाँच हजार पनि हामीलाई धेरै लाग्न सक्छ तर जापानीहरुको औसत आम्दानीको दाँजोमा यो एकदम थोरै हो। जापानमा लामो समय बस्ने गरी आएका विदेशीमात्रै त्यहाँको स्वास्थ्य बीमा प्रणालीमा आबद्ध हुन सक्छन् । आमा छोटो समयको भ्रमण भिसामा जानुभएको थियो ।

स्वास्थ्यबीमाकै कारण छोरी जन्मँदाको खर्चको झण्डै ९० प्रतिशत हामीले फिर्ता पाएका थियौं र छोरीको नियमित स्वास्थ्य परीक्षणपनि लगभग नि:शुल्कजस्तै थियो । कुनै बच्चाको जन्मदर्ता भइसकेपछि राज्य आफैंले निरन्तर त्यो बच्चाको बारेमा चासो राखेर अनुगमन गरीरहेको हुन्छ । छ महिना पुगेपछि र त्यसपछि हरेक जन्मदिन वरिपरि वार्ड अफिसबाट छोरीको स्वास्थ्य परीक्षण गराउन सम्झाउँदै चिठ्ठी आउँथ्यो ।यसरी चिठ्ठी नआउनेहो भने दैनिक जीवनको झमेलामा परेर बेलैमा नसम्झिन पनि सकिन्थ्यो ।

जापानमा स्वास्थ्य बीमा अनिवार्यनै छ, यस्तो प्रणालीलाई समग्र स्वास्थ्य बीमा (Universal Health Care) भनिन्छ । स्वास्थ्य बीमा नगर्ने हो भने साना-साना उपचारले पनि मान्छेलाई जोगी बनाइदिन्छन्। विद्यार्थीहरु, स्वरोजगारहरु (र बेरोजगारहरु) लाई राष्ट्रिय स्वास्थ्य-बीमाले समेट्छ भने कर्पोरेट क्षेत्रको बीमालाई स्वास्थ्य-बीमामात्रै भनिन्छ। दुबै थरीको अनुभव भयो जापान बसाईमा, उपभोक्ताको आँखाबाट हेर्दा केहि फरक देखिँदैन, खर्च राज्यले बेहोर्ने वा सम्बन्धित कम्पनीले भन्ने सवालमात्रै हुनसक्छ। स्वास्थ्य बीमा गरेपछि वयस्कहरुले उपचार खर्चको ३०% मात्रै तिरे पुग्छ भने बच्चाहरुको उपचार भने नि:शुल्क हुन्छ, कुन उमेरसम्म हो भन्ने ठ्याक्कै याद भएन अहिले ।फेरि प्रान्त (prefecture) र शहर हेरी फरक पनि हुनसक्छ। अमेरीकी चुनावमा जहिले पनि समग्र Universal health care को पक्ष-विपक्षमा ब्यापक वहस सुनिन्छ।

विपक्षमा उभिनेहरुका पनि आफ्नै तर्कहरु होलान् र कुनै पनि देशको राजनीतिक र सामाजिक परिवेशले पनि समग्र स्वास्थ्य बीमा सफल हुने-नहुने कुरामा धेरै असर पार्छ होला तर जापानमा भने यो तरिका एकदम सफल देखिन्छ। मेरो बुझाइ सीमित पनि हुनसक्छ, त्यो कुरा भने म स्विकार गर्छु।

हाम्रा आफ्ना साना-ठूला उपचार बाहेक, छोरी जापानमै जन्मे-हुर्केकीले जापानको बालबच्चासम्बन्धी नीतिहरुको बारेमा पनि धेरै कुरा प्रत्यक्ष रुपमा अनुभव भयो। एक-दुई साना घटनाहरुलाई छोडेर मेरो साढे सात वर्षे अनुभव अत्यन्त सकारात्मक छ।

बच्चा जन्मिँदा लाग्ने खर्च लगभग सबै फिर्ता हुन्छ। बच्चाहरुको उपचार नि:शुल्क हुनुका साथसाथै बच्चा हुर्काउने भरथेगका लागि राज्यले अलिकति पैसा पनि दिन्छ निश्चित उमेरसम्म। जापानको महंगीको अनुपातमा रकमको परिमाण थोरै भएपनि यो धारणा आफैंमा अत्यन्त राम्रो हो। दुई भन्दा बढी बच्चा छन् भने तेश्रो, चौथो— बच्चाको नाममा आउने पैसा पहिलो, दोस्रोको नाममा आउने भन्दा बढी हुन्छ। जनसंख्या द्रुत गतिमा ओरालो लाग्न थालेपछि जनताले बच्चा धेरै जन्माउन् भनेर ल्याईएको होला यो नीति। तर यति हुँदा-हुँदै पनि जापानको जनसंख्या ओरालो लाग्न भने छोडेको छैन अझै, त्यो बेग्लै कुरो हो ।जन्मदर झन्-झन् घटदै छ। जापानको घट्दो जन्मदरले प्रत्येक वर्ष नयाँ किर्तिमान बनाइरहेको छ । जापानी समाजको यतिखेरको सबैभन्दा ठूलो चिन्तानै यहि हो शायद ।

बच्चाको स्वास्थ्य परीक्षण गराउने वा भ्याक्सीनहरु लगाउने समय हुन आँटेपछि वार्ड अफिस वा सिटी अफिसबाट जानकारी-पत्र र भर्नुपर्ने फारामहरु सबै आऊँछन्। महिलाहरुको हकमा हरेक वर्ष जन्मदिनको आसपासमा पाठेघर अथवा स्तन क्यान्सरको परीक्षण गर्ने अनुरोध गर्दै चिठ्ठी पनि आऊँछन्। जागिरेहरुलाई पनि वर्षको एकपल्ट पूर्ण स्वास्थ्य-परीक्षण अनिवार्य छ जसको खर्च अलिकति पनि आफूले ब्यहोर्नुपर्दैन।

हाम्रो देशमा समग्र स्वास्थ्य बीमा एकैपटक अहिल्यै ठ्याक्क लागू गर्न सकिने स्थिति छैन। नेपालीको औसत आर्थिक स्थिति अहिलेभन्दा धेरैनै माथि पुग्नु आवश्यक हुन्छ त्यसका लागि। त्यो मात्र होइन आफ्ना जनतालाई समग्र स्वास्थ्य बीमा प्रदान गर्न सक्ने स्रोत र यसको जटिलतालाई व्यवश्थापन गर्न सक्ने क्षमता पनि हाम्रो राज्यसंग छैन । क्षमता बनीसकेपछि पनि राज्यको चरित्र लोककल्याणकारी भएन भने यसलाई सफल पार्न सकिन्न ।

बीमाको कुरा गर्दा दुर्घटना बीमा, जीवन बीमा आदि पहिल्यैदेखि अस्तित्वमा रहेपनि नेपाली जनमानसमा बीमाको अवधारणा खासै स्थापित हुन सकेको छैन । बीमा कम्पनीहरुको विश्वशनीयता कम छ समाजमा। अहिलेको कोरोना बीमाको प्रसङ्गमा कम्पनीहरुले शुरु गरेको जालझेलले पनि नेपालीलाई फेरि झस्काएको छ बीमाका बारेमा । सीमित रुपमा स्वास्थ्य बीमाको शुरुवात भएता पनि त्यो लोकप्रिय र आम हुन अझ धेरै समय लाग्ने देखिन्छ ।

नेपालमा स्वास्थ्य बीमाको अवधारणा पहिलो पटक वि. सं. २०५८ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि बनेको मन्त्रीमण्डलका स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाले ल्याएका थिए ।नेपालका राजनीतिक दलहरुले त्यतिखेर अत्तोन पत्तोसंग यो अवधारणाको खोइरो खनेका थिए। कसरी अगाडि लाने भन्ने कुरा एउटा हो तर स्वास्थ्य बीमाको अवधारणालाईनै गलत भन्नु राजनीतिक दलहरुको बेइमानी थियो । समग्र स्वास्थ्य बीमा एक हिसाबले पक्का समाजवादी आवधारणा हो र हाम्रो देशका आफूलाई समाजवादी भन्ने दलहरुले आफ्नो प्रमुख उद्देश्यका रुपमा त्यसलाई अपनाउनुपर्ने हो तर दुर्गम भेगमा अस्पताल खोल्नुपर्ने जस्ता माग राखेर डा. केसी पटक-पटक अनशन बसीरहनुपर्ने यो देशमा राज्य यति गहन सोच राखेर अघि बढ्ला भनेर आशा गर्न सकिने समय अझै आइसकेको छैन ।

म जापानबाट फर्केको एक दशक कटिसक्यो तर जापानको व्यवश्थित स्वास्थ्य सेवा प्रणाली यत्तिकै र शायद अझ बढी लोककल्याणकारी छ र रहनेछ भन्ने कुरामा मलाई कुनै शंका छैन । जापान नीतिगत स्थिरता भएको देश हो र वर्ष वा दशकलाई हेरेर होइन शताब्दीलाई हेरेर योजना बनाउने देश हो ।

pokhara internet
Comments
Loading...