NMB Bank

मेरो मनको दशैं

  • डा. वसन्त गौतम

मेरो मनको दशैँ विद्यालयमा दशैँ बिदा शुरु हुने केहि दिन पहिलेबाट शुरु हुन्छ । वर्षात सकिएको छ, धानको फाँट हरियोबट पहेँलो हुने सूरमा छ र भटमासका बोटहरु र मकैका ढोडहरु उखेलेको बारी अझै रसिलो र मलिलो देखिन्छ । बिहानको हल्का चिसो र एकदम पातलो हुस्सूले दशैँले कतै नजिकै लुकेर जिस्काइरहेको छनक दिन्छ । विद्यालयमा शुभकामनाका शब्दहरु लेखिएका पोष्टर्काडहरुको आदानप्रदान भइरहेछ, मनपर्ने शिक्षकहरु र मनपर्ने साथीहरुको भागमा मात्र यी पर्छन् र कुनै कुनैमा प्रेमको उद्घोष पनि हुनसक्छ ।
दशैं लागेपछिको चङ्गाको रौनक पनि गज्जबको हुन्थ्यो । लगभग हरेक बच्चाको हातमा लट्टाइ र चङ्गा हुन्थ्यो, धेरै वयष्कहरु पनि चङ्गा उडाउने आनन्दमा सामेल हुन्थे । चङ्गा उडाउनु काठमाण्डौंको प्रमुख दशैं संस्कारजस्तै थियो । काठमाण्डौंमा अब त खाली ठाउँनै बाँकी छैन चङ्गा उडाउन, अर्को्तिर, टेलिभिजन र इन्टरनेटले धेरै मान्छेलाई कोठाभित्रै थुनेर राख्दिन्छ अचेल ।
दशैँ बिदा लाग्नुअघिको दिनमा हाम्रो विद्यालयमा विद्यालयब्यापी कार्यक्रम भएको त याद छैन, तर सबै कक्षाले आफ्नै ढंगले रमाइलो गरेर एक अर्काबाट छुट्टिन्थे । त्यस्ता कार्यक्रमहरुमा म चूट्कीला सुनाऊँथेँ । गान, बजान र नृत्य मेरो वशका कुरा होइनन् (मलाई आफू निरस भएकोमा सधैँ हीनताबोध भइरहन्छ।) । धन्न बच्चैमा पढेको “हमजाएगाको डायरी“ ले चूट्कीलामा रस बसाईदियो र भीडभाडमा अलि अलि गफ लाउन जान्ने भइएछ ।
बिदाका दिनहरुमा मेरा साथीहरु किताबमात्रै हुन्थे । दशै तिहारमा जूवा(तास नखेल्ने मान्छेलाई अनौठो जनावर मान्ने समाज छ मेरो । अभावले गाँजिएको मेरो बाल्यकालले मलाई किताबको छेऊमा पुर्यायो, तासको छेऊमा जाने आँटनै आएन । हुनत किताबको सोख पनि सस्तो थिएन मेरो लागि ।
फूलपाती, अष्टमी र टिका आदिका औपचारिकताहरुभन्दापनि मलाई दशैँको समयको मादकताले सधैँ सधैँ लठ्याउँछ । सबेरै बिहानको हल्का झण्डै पारदर्शी कुहिरो र मिठोसंग चसक्क घोच्ने चिसो हावा, उज्यालो दिनमा पहेँलिएर दौडिरहेको वतास, चँगाबुट्टे निलो एकदम निलो आकाश, मादक हावाका पखेटामा झुण्डिएर उडिरहेको साँझ, के छ यी सबमा कुन्नि, जसले जिन्दगीका कठोरताहरुको माझमा पनि मेरो मनको भित्र, भित्र कतै, आशाको उज्यालो भरिरहन्छ ।
र मेरो मनको दशैँको मध्यचोकमा मेरो प्यारो मामाघर पर्छ । घर र छिमेकमा टिका थापिसकेपछि, मामाघर जाने यात्रा शुरु हुन्थ्यो, टिकाकै दिन । भक्तपुरको दक्षिण पूर्वी कुनामा पर्ने मेरो मामागाऊँ कालीटार (केहि समय पहिलेसम्म दधिकोट गा. वि. स. मा पर्थ्यो, अहिले कुनै नामको नगरपालिकामा पर्ला) पुग्न ठिमीमा बसबाट ओर्लेर एक घण्टा जति हिँड्नुपर्थ्यो, अहिले गाऊँसम्मै मोटर बाटो पुगीसकेको छ । हनुमन्ते खोला तरेर तरकारीका फाँटहरु कटेर एउटा सानो उकालो काटेपछि गाम्चा शुरु हुन्छ । गाम्चाको सीरी (श्री?)को पसलको रौनकनै बेग्लै हुन्थ्यो । लँगुरबुर्जाका थुप्रै खालहरुमा मान्छेहरु झुम्मेर चिच्याईरहेका हुन्थे । हामीपनि बढीमा एक मोहरसम्म त्यहाँ बुझाएरमात्रै बाटो लाग्थ्यौँ । चर्खण्डीसम्मको चौडा बाटो छोडेर, एउटा सानो खोला तरेर गोरेटो समात्ने बेलासम्म झमक्क साँझ परिसक्थ्यो । त्यतिखेरसम्म त्यो गाऊँमा टिका थाप्न जाने छोरी, ज्वाईँ र भाञ्जाभाञ्जीहरुको ठूलै जमात पनि भेट भइसक्थ्यो । ठूलाहरुको सञ्चो(विसञ्चो र ब्याबहारिक गफमा हाम्रो हल्लालाई पनि मिसाऊँदै हामी सकेसम्म छिटो मामाघर पुग्ने धूनमा बत्तिन्थ्यौँ । माथिबाट उज्यालो चन्द्रमाले जीवन्त जूनको वर्षा गरिरहेछ र तल धानका बोटहरु हामीलाई लजालु स्पर्श गरिरहेछन् । काठमाण्डौंको उज्यालो शारदी जूनले नुहाएका ती क्षणहरु आनन्दको सागरमा पौडिएका क्षणहरु थिए, संसारका सब पिडाहरुबाट मुक्त भएका क्षणहरु थिए । समाधि शायद यस्तै अनुभूति हुनुपर्छ ।
तर मेरो जिन्दगीको आठौं वर्षदेखिका हरेक दशैँहरु जिन्दगीमा कहिल्यै नपुरिने घाऊ बेस्सरी चहराएर बित्ने गरेका छन् । कुनै घटस्थापनाको दुई दिन पहिले मेरी आमास शान्त, शुशील र सुन्दरी आमा हामीलाई छाडेर बैँशमै, आफ्नो सपनाको घर सजाउन भर्खरै थाल्दा थाल्दै, गुँडमा बचेराहरु जम्मा गरिमात्रैसकेर तिनका लागि आहारा खोज्दा खोज्दै ताराहरुको संसारतिर जानुभयो । त्यसपछि थुप्रै दशैंहरु आइसके र गइसके, तर मेरी आमाबिनाको दशैं कहिल्यै दशैंजस्तो भएन मेरा लागि । लाग्छ, दशैंमा लागेको कुनै विशाल मेलामा म आमाको हात समातेर हिँडिरहेको थिएँ, अचानक म आमाबाट अलग्गिएँ र भिडमा एक्लिएँ । यो पूरै जिन्दगी मलाई मैले मेरी आमा खोजीरहेको यात्राजस्तो लाग्छ र आमाको याद दशैंमा त झन् सघन भइदिन्छ ।
त्यो चोटको दुई वर्षपछिको दशैँमा होला, हामीलाई निलो पाईण्ट र निलै शर्ट आएको थियो दशैंको लुगाका रुपमा । बाले हामीलाई मामाघर लिएर जानुभएको थियो । कलंकीबाट बस चढेर त्रिपुरेश्वरसम्म गएपछि त्यहाँबाट ट्रलिबसमा ठिमीसम्म जानुपर्थ्यो । ट्रलीबस त्यो समयको अत्यन्त उपयोगी र लोकप्रिय सार्वजनिक सवारी थियो ।
तर आज कलंकीबाट बस चढ्ने संभावनै थिएन, मान्छेहरु नैकापितिरबाटै झुण्डिएर यात्रा गरिरहेका थिए ।
“म तिमीहरुलाई कथा सुनाऊँछु, हिँडेर जाऊँ है त ?“ केहि बेर बस कुरीसकेपछि बाले भन्नुभयो ।
“हस् ।“ बस चढ्ने रहर त छँदैथियो तर कथाको लोभले जित्यो।
बाले रामायणको कथा शुरु गर्नुभयो, शायद दशैँको शुरुवातको प्रसंगबाट होला। हामी कथामा यस्तरी एकाकार भयौँ कि डेढ(दुई घण्टाको बाटो कटेको पत्तै भएन । त्रिपुरेश्वर पुगेपछि ट्रलीबस चढ्न पाईयो। ठिमीमा ट्रलीबसबाट झरेपछि कथाको क्रम फेरि शुरु भयो । त्यो दिनको त्यो एकाग्रता, त्यो तन्मयता शायद आजसम्म कहिँ कतैपनि दोहोरिएको छैन ।
“अब हजुरबाले सुनाउनुहुन्छ तिमीहरुलाई कथा ।“ मामाघर पुगेपछि बाले भन्नुभयो ।
“ल आओ, म सुनाउँछु कथा ।“ बेलुकाको खाना खाइसकेपछि हजुरबाले कथा शुरु गर्नुभयो बाले रोकेको ठाऊँबाट । त्यो रात सपनामा हामीले शायद पूरै रामायण देख्यौँ होला ।
दशैँमा हामीले पाएको दक्षिणा भोलिपल्ट फर्कँदा ठिमी पुगेर सकिन्थ्यो । सडक नपुग्दैको एउटा पुस्तक(पत्रिका पसलमा “बालकोसेली“ भन्ने पत्रिका र नयाँ बालकथाका पुस्तकहरु किनेपछि हाम्रो दशैँ हामीबाट बिदा हुन्थ्यो । बालकोसेली त्यतिखेर हाम्रो सर्व्प्रिय साथी जस्तै थियो । त्यो बाहेक बालबालिकालक्षित पत्रिका थिएनन्, थिए भनेपनि हाम्रो पहुँचमा थिएनन् । रेडियो नेपालमा ‘को भन्दा को कम’ भन्ने कार्यक्रम आउँथ्यो, तर हाम्रो घरमा रेडियो थिएन । नेपालमा टिभी आइपुग्न अझै केहि वर्ष बाँकीनै थियो ।
अब दिनहरु उहि रहेनन् । हजूरबा हुनुहुन्न, हजूरआमा हुनुहुन्न, केहि वर्षपहिलेबाट मामा समेत हुनुहुन्न । हनुमन्तेको फाँटमा तरकारीहरु कम झुल्छन्, कङ्क्रीट जङ्गलले बिस्तारै फाँटलाई निलिरहेको छ । फाँटको बचेको हिस्सामा पनि राक्षसजस्ता कुरुप र विशाल ईँटाभट्टाहरु मलिलो माटोलाई चपाएर, उग्राएर धूवाँ फालिरहेका थिए मैले केहि वर्ष पहिले देख्दा । उता गाऊँको वातावरण पहिलेभन्दा बिग्रेको छ । चियापसलहरुले चियासँगै जाँड रक्सीपनि बेच्न थालेको धेरै भयो । गाऊँका धेरै तन्नेरीहरु विदेशतिर छन् । यतै भएका केहि उद्देश्यहीन झल्लीरहेछन् । पिङ्ग धेरै मच्चिन छोडेको छ गाऊँमा, किनकि दिदी(बहिनी र भाऊज्यू(बुहारीले ढुक्कले पिङ्ग खेल्ने वातावरण रहेन अब । जताततै जँड्याहा र गुण्डाहरुको बिगबिगी बढेको छ । एक दशकभन्दा बढी दुई थरी बन्दूकको चेपुवामा परेर पनि टाक्सियो मेरो दशैं ।
मेरा धेरै दशैँहरु घर र देशबाट टाढा परदेशमा एक्लै एक्लै बितेका छन् । तर मलाई मेरो मनको दशैँले कहिल्यै छोडेको छैन । दिनमा बतासलाई रोकेर झुल्ने हरिया फाँटहरु अनन्तसम्म फैलिएका छन् मेरो मनमा । साँझको बतास घर अगाडिको अग्ला अग्ला काईँयो फूलका रुखहरु वरिपरि चक्कर मार्छ र रुखहरुलाई काऊकुती लागाएर आफैँ खित्का छोड्दै भाग्छ । अनि चन्द्रमा उदाएपछि आकाश र धर्तीको रुपको जुहारी चल्छ ।
मेरो मनको दशैँमा म स्मृतिका गोरेटाहरुमा दायाँबायाँका मभन्दा अग्ला बोटका धानका बालाहरुसंग गफ गर्दै मामाघर गईरहेको हुन्छु ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?