NTHMC

अनलाइन शिक्षा‘…..तेलको धूप’

वसन्त गौतम 

पोखरा / 

roma

कोरोना महामारीका कारण विद्यालयहरु बन्द छन् र फेरि कहिले खुल्ने हुन् कुनै टुङ्गो छैन । त्यसैले बालबालिकाहरुको शिक्षालाई निरन्तरता दिनका लागि दूरशिक्षाका माध्यमहरुको चर्चा भइरहेको छ । दूरशिक्षाका विभिन्न तरिकाहरुमध्ये अहिले सबैभन्दा बढी चर्चित र धेरैले प्रयोग गर्न खोजेको तरिका अनलाइन प्रणालीको हो । यसमा जुम, गुगल मिट वा अन्य कुनै ‘भर्चुअल मिटिङ्ग प्लेटफर्म’मा शिक्षक विद्यार्थी भेला भएर सिक्ने—सिकाउने प्रकृया सुचारु गरिन्छ ।

ICAS

यस्तो अनलाइन शिक्षाको प्रभावकारिता भने सबै उमेर समूहमा उस्तै हुँदैन । पंक्तिकार स्वयंले पनि यस बीचमा अनलाइन माध्यमबाट अध्यापन गरेको आधारमा भन्दा अनलाइन शिक्षाले स्नातकोत्तर तहमा परम्परागत कक्षाकोठाको अभावलाई दुई तिहाइ सम्म पूर्ति गर्न सक्छ । उक्त तहको शिक्षणमा शिक्षकले एकोहोरो सिकाउनेभन्दा पनि सन्दर्भ सामाग्रीहरु उपलब्ध गराउने वा अनुसन्धानसम्बन्धी निर्देशनहरु दिने काम बढी हुन्छ र विद्यार्थीहरु परिपक्व हुने हुँदा अन्तरक्रियामा खासै अप्ठेरो हुँदैन । समूहमा गर्नुपर्ने वा प्रयोगशालामा प्रत्यक्ष उपस्थित भएर गर्नुपर्ने अनुसन्धान र प्रयोगको हिस्सा भने अनलाइनले पूर्ति गर्न सक्दैन । यस्तैव्यापक प्रत्यक्ष अन्तर्कृया आवश्यक पर्ने छलफलहरु, अनुसन्धान सर्वेक्षणहरु, परीक्षाहरु आदि सञ्चालन गर्न पनि सम्भव हुँदैन ।

यसपछि हामी जति तल्लो तहमा जान्छौं अनलाइन शिक्षाको उपयोगिता र प्रभावकारिता त्यतिनै कम हुँदै जान्छ । स्नातक तहमा अनलाइन शिक्षाले परम्परागत कक्षाकोठाको अभावलाई बढीमा आधामात्र पूर्ति गर्न सक्छ । यो तहको शिक्षणमा शिक्षकको बढी सकृयता र उसको विद्यार्थीसँगको प्रत्यक्ष अन्तरक्रिया आवश्यक हुन्छ । विद्यार्थीले आफूले नबुझेको कुरा सोध्नका लागि कक्षाकोठामा अनुभव गरेजस्तो सहजता अनलाइन कक्षामा उपलब्ध हुन गाह्रो हुन्छ । इण्टरनेट सुविधा भरपर्दो नभएको ठाउँमा त अन्तरक्रिया अझ कठिन हुन्छ । प्राविधिक धारका विषयहरुमा प्रयोगात्मक कक्षाविनाको पाठ्यक्रम हुन सक्दैन । यस्ता प्रयोगात्मक कक्षाहरुलाई अनलाइनमा सम्पन्न गर्न सक्ने कुरा भएन । अनलाइन माध्यमबाटै परीक्षा र मूल्यांकन सम्पन्न गर्न सकिने विधिहरु भरपर्दा छैनन् र पूर्णबनीसकेका पनि छैनन् ।

अर्कोतिर, विद्यार्थीहरुको सिकाइ प्रकृया र समग्र व्यक्तित्व विकासमा साथीहरुसँगको सम्बन्ध, अन्तरक्रिया, आपसी सहयोग र प्रतिष्पर्धाको भावनाको पनि ठूलो महत्व हुन्छ । यस्ता कुरा अनलाइन शिक्षाले दिन सक्दैन ।

parichay

विद्यालय तहका कक्षाहरुको पठनपाठनको थोरै भागलाईमात्र अनलाइन शिक्षाबाट पूर्ति गर्न सकिन्छ । यो तहमा माथि उल्लेख गरिएका साथीहरुसँगको सम्बन्ध, अन्तरक्रिया, आपसी सहयोग र प्रतिष्पर्धाको भावना झन् आवश्यक हुन्छ । विद्यार्थीहरुले कक्षाकोठामा सिक्नेजतिनै वा त्यो भन्दा बढी कुराहरु कक्षाबाहिरबाट सिकिरहेका हुन्छन् । विद्यालय जीवनमा हुने गतिविधिहरु उनीहरुको शारीरिक र मानसिक विकासका लागि अनिवार्य हुन्छन् । विद्यालय जाँदा—आउँदाको अवधि वा खाजा छुट्टीका समयमा पनि उनीहरुले धेरै जानकारी र अनुभूतिहरु संगालिरहेका हुन्छन् । यस्ता जानकारी र अनुभूतिहरु उनीहरुमा मानसिक परिपक्वता विकास गर्नका लागि अति आवश्यक हुन्छन् ।

विद्यालय जाने उमेरका बालबालिका र किशोरकिशोरीहरुलाई कुनै एउटै कुरामा लामो समयसम्म टिकाएर राख्न मुश्किल हुन्छ । कक्षाकोठा रमाइलो भएन भने उनीहरुको सिकाइको दर र स्तर दुबै नराम्रो हुन्छ ।परम्परागत कक्षाकोठामै पनि विद्यार्थीको ध्यान पढाइमै टिकाइराख्न रुचिकर अन्तरक्रियामा पोख्त शिक्षकले मात्रै सक्छन् । खासै अन्तरक्रिया हुन नसक्ने एकोहोरो अनलाइन शिक्षणमा विद्यार्थीको ध्यान अडिने समय अझ कम हुन्छ । अनलाइन कक्षा पौने घण्टाभन्दा लामो हुनासाथ आफ्नो भिडिओ, अडियो बन्द गरेर अरुनै काम गर्ने प्रवृत्ति देखिन्छ ९ र १० पढ्ने विद्यार्थीमै पनि । यसैले किशोर उमेरका विद्यार्थीका लागि दैनिक अनलाइन कक्षाको अवधि १ घण्टाभित्र सीमित गरिनुपर्छ । त्यो १ घण्टाको अवधिमा प्रयोग गरिने शिक्षण सामाग्री पनि उनीहरुलाई विषयवस्तुका बारेमा स्वअध्ययन गर्न प्रेरित हुने गरी तयार पार्नुपर्छ । उनीहरुलाई पठाइने गृहकार्य पनि सकेसम्म रचनात्मक र स्वअध्ययन चाहिने खालको हुनुपर्छ ।

केही अनलाइन विधिहरुलाई प्रयोग गरी परम्परागत शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन सकिने कुरामा कुनै शंका छैन तर सोलोडोलो अनलाइन कक्षासमग्रमा भन्दा ‘अड्को पड्को तेलको धूप’मात्रै हो र स्थिति सामान्य भएपछि कक्षाकोठामा फर्किनै पर्छ । यसैले राज्यले सक्दो छिटो विद्यालयहरुलाई फेरि सञ्चालन गर्न सकिने उपायहरु खोज्नुपर्छ । अहिलेको अप्ठरो परिस्थितिमा पनि विद्यार्थीहरुलाई पाठ्यक्रममै मात्र अल्मल्याउने उपाय गर्नुको सट्टा पाठ्यक्रम बाहिरका पुस्तकहरु, फिल्महरु आदिबाट शिक्षित पार्ने कोशिश पनि गर्नुपर्छ ।

यसरी अनलाइन शिक्षाका बारेमा कुरा गरिरहँदा हामीले हाम्रो समाजका धेरैजसो बच्चाहरु अनलाइन शिक्षासँग जोडिन सक्ने अवस्थामा भने छैनन् भन्ने कुरा भुल्न सक्दैनौं । देशका सामुदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुमध्ये १३ प्रतिशतसँग मात्र इण्टरनेटको पहुँच छ । पहुँच हुनेमध्ये पनि अनलाइन कक्षामै सहभागी हुनसक्ने गरी गुणस्तरीय इण्टरनेट भएका ज्यादै थोरै छन् । अनलाइन शिक्षामा मात्र केन्द्रित हुँदा त्यस्ता विद्यार्थीले अवसर नपाउने हुँदा टिभि र एफएमका माध्यमबाट पनि कक्षाहरु चलाईँदै आएको छ तर ग्रामीण भेगमा टिभी र एफएम रेडियो समेत नहुने घरहरु धेरै छन् । सञ्चार माध्यमसँगको अत्यन्त न्यून पहुँचमा बाँचीरहेका त्यस्ता समुदायका बालबालिकासम्म दूर शिक्षापनि पुग्न नसक्ने हुँदा समुदायमै अरु व्यवस्था गर्नुपर्ने आवश्यकता छ । कोरोना महामारीले विद्यालयहरु बन्द हुँदा अहिले विद्यार्थीमात्र होइन शिक्षक पनि गाउँ—गाउँमा पुगेका छन् । समुदायमा रहेका बच्चाहरुलाई समुदायमै रहेका शिक्षकहरुले पढाउने व्यवस्था गर्न सकिन्छ । स्थानीय सरकारले सहजीकरण गर्ने हो भने यो कुनै गाह्रो काम होइन ।

साना कक्षाका विद्यार्थीहरुलाई अनलाइन कक्षाकोठामा अड्याइरहनु झन् गाह्रो कुरा हो । अहिले पूर्व प्राथमिक तहका साना नानीहरुलाई समेत अनलाइन कक्षाका नाममा कम्प्युटर वा मोबाइल स्क्रीनका अगाडि राख्न थालिएको छ, यो चाहिँ उनीहरुमाथि गरिएको अपराधनै हो । साना नानीहरुका लगि औपचारिक शिक्षा खासै महत्वपूर्ण होइन, उनीहरुले खेलेरै धेरै कुरा सिकिरहेका हुन्छन् । ३ र ४ वर्षकै उमेरमा ए, बि, सि, डि लेख्न नजान्दैमा पिर गर्नुपर्दैन, त्यो उनीहरुले पछि सजिलै सिक्छन् । त्यो सानो उमेरमा उनीहरुले आफ्नो वरिपरिको वातावरण, समाज र गतिविधिहरुबाटै धेरै कुरा सिकिरहेका हुन्छन् ।

यसमा अनलाइन शिक्षाका नाममा बोझ थपिदिँदा उनीहरुले स्वाभाविक रुपमा सिकिरहेका कुरा समेत सिक्न नसक्ने हुन्छन् । यस्ता बच्चाहरुका लागि सकेसम्म घर बाहिरको वातावरणमा खेल्ने अवसर चाहिन्छ । उनीहरुको अनौपचारिक सिकाइलाई केही प्रणालीबद्ध बनाएर अझ प्रभावकारी बनाउन भने सकिन्छ । अहिले वर्षायाम छ, बिभिन्न बोटविरुवा र तरकारी—फलफूलका माध्यमबाट उनीहरुलाई बिभिन्न रङ्ग, आकारप्रकार आदिका बारेमा सिकाउन सकिन्छ । उनीहरुलाई आफ्नो वरिपरिबाट बिभिन्न आकारका ढुङ्गाका टुक्राहरु जम्मा गर्न वा घरभित्रै पनि गेडागुडीहरु छुट्याउन लगाउनेजस्ता गतिविधिहरुमा लगाउन सकिन्छ । म जापानमा हुँदा छोरी पढ्ने पूर्व प्राथमिक विद्यालयका ४ र ५ वर्षका बच्चाहरुलाई मसिना प्वालहरु भएको काठको वा प्लाष्टिकको सानो बाकस दिने र त्यसमा अलिकति माटो, पात आदि राखेर झुसिल्किरा राख्दिने र पुतली नहुञ्जेलसम्म दिनदिनै हेर्न लगाएको देखेको थिएँ ।अभिभावकहरुले अलिक समय दिँदा यो र यस्तै रचनात्मक कामहरुका माध्यमबाट साना नानीहरुलाई शिक्षा दिन सकिन्छ । यसरी उनीहरुले प्राप्त गरेको शिक्षा कक्षाकोठामा पढेर प्राप्त गरेको भन्दा धेरै प्रभावकारी हुन्छ ।

शिक्षा भनेको पाठ्यपुस्तकमात्र होइन भन्ने कुरालाई ध्यान दिन सक्यौं र अभिभावकले अलिकति समय निकाल्यौं भने यो संकटको समयमा पनि हामी हाम्रा बालबालिकालाई धेरै कुरा सिकाउन सक्छौं । त्यसका लागि अनलाइन कक्षा चाहिन्छनै भन्ने छैन ।

pokhara internet
Comments
Loading...