नेताको लर्को (जापान प्रवासका पानाहरुबाट)

वसन्त गौतम

पोखरा / 

सन् २००८ देखि २०१० को अवधिमा नेपालका नेताहरु लर्को लागेर जापान भ्रमणमा थिए । कतिपय जापान सरकार वा कुनै जापानी संस्थाको निमन्त्रणामा हुन्थे भने धेरैजसो आफ्ना कथित भातृसंस्थाका अधिवेशन आदिका लागि पुगेका हुन्थे ।

ICAS

हुनत, नेपाली नेताहरुको यस्तो लर्को सधैं हुन्छ होला । त्यो बेला आफू पनि केही कार्यक्रममा परिएकाले मात्रै मलाई त्यस्तो लागेको होला । आफ्ना भातृसंस्थाका नाममा नेपाली दल र नेताहरुले विदेशमा दुःख गर्न गएका नेपालीलाई पनि विभाजित बनाएका छन् र लडाएका छन् । देशमा जे भयो—भयो, कम्तिमा विदेशमा पुगेका नेपाली भने सबैलाई नेपालीकै रुपमा एक भएर रहन प्रोत्साहित गर्नुपर्ने हो तर त्यसो गर्दा उनीहरुका कतिपय कुत्सित स्वार्थ पूरा नहुने रहेछ । प्रवासी नेपालीका दिमागमा राजनीतिक विष पसाएर विभाजित गराएपछि कथित भातृसंगठन खडा गर्न सकिँदो रहेछ र यो भातृ संगठन दल र नेताहरुलाई चन्दा दिइरहने ‘दुहुनो गाई’ बन्दो रहेछ । बेला—बेला तिनै दुःखी श्रमजीवी नेपालीको रगत पसिनाको कमाईमा नेताहरु विदेश भ्रमण पनि गर्न पाउँछन् ।

जून, २००८ को दोश्रो हप्ता माओवादी नेता सीपी गजुरेल उपस्थित एउटा कार्यक्रम थियो नागोया नजिकैको हिगाशी—ओकाजाकी भन्ने शहरमा । म त्यतिखेर नेपाल इञ्जिनियर्स एसोसिएसनको जापान शाखाको अध्यक्ष थिएँ संस्थाको प्रतिनिधित्व गर्दै उपस्थित हुने निम्तो थियो मलाई ।

एउटा नयाँ संस्थाले उनलाई बोलाएको रहेछ नेपालबाट । त्यो संस्थाले आफूलाई माओवादीको जापानस्थित भातृसंगठनको रुपमा चिनाउन थालेको रहेछ । हुनत, माओवादीका भातृसंगठनहरु अरु पनि थिए होलान् तर यो संस्था शुरु गर्ने साथीलाई ‘भगौडा माओवादी’ भनेर कुरा काट्थे उनलाई पहिल्यैदेखी चिन्ने अरु साथीहरु । नेपालमा छँदा यी मित्र माओवादी कार्यकर्ता रहेछन्, नेताहरुले बन्दूक बोकाउने भएपछि लुसुक्क जापानतिर लागेका रहेछन् । जापान पुगेपछि त्यहाँका आफूलाई एमाले ठान्नेहरुसंग नजिक भएछन् । पछि माओवादी शान्तिप्रकृयामा आएपछि भने फेरि आफूलाई माओवादी भनेर चिनाउन र भाषण गर्न थालेछन् । यिनैले बोलाएका रहेछन् सीपी गजुरेललाई । सिपी गजुरेल त्यतिखेर माओवादीको विदेश विभाग प्रमुख पनि रहेछन् ।

कार्यक्रम दुई घण्टा ढिलो भयो । नेतालाई कुर्ने क्रममा साथीहरुबाट थाहा भयो, अघिल्लो दिन विमानस्थलमा जापानी अध्यागमन अधिकारीहरुले सिपी गजुरेललाई दुई घण्टा रोकेका रहेछन्, उनलाई जापान प्रवेश गर्न नदिने र नेपालै फर्काइदिने कुरा गरेका रहेछन् । पछि के कसो गरेर कुरा मिलेछ र उनी जापान पस्न पाएछन् ।

कार्यक्रममा भाषण गर्दा सिपी गजुरेल आफैंले ‘हिजो मलाई यस्तो भयो, मैले जापानीलाई यस्तो—यस्तो भनेपछि बल्ल मलाई आउन दिए !’ भनेर यो प्रसङ्ग पनि जोडेका थिए । अरु वक्ताहरुले नेपालीले यस्तो सधैं भोग्नु पर्छ, यस पछि भोग्नु नपरोस् भनेर देश बनाउने काममा नेताहरु लागुन् भनेर भनेका थिए। कार्यक्रम धेरै भाषणहरुका कारण पट्यारलाग्दो र बोझिलो भएको थियो ।

सिपी गजुरेलले आफ्नो कथा सङ्ग्रह ‘प्रतिरोध’ पनि भिडाएका थिए धेरैलाई, हजार येनको मोलमा । पछि पढ्दा माओवादीको नारा र शब्दजालबाहेक केही पनि भेटिन मैले । कार्यक्रम हतार—हतार सकेर टोकियोको कार्यक्रममा जानु छ भनेर हिँडेका थिए उनी र आयोजकहरु ।

दुई महिनापछि अगष्टको दोश्रो हप्ताको कुनै दिन, एउटा कार्यक्रम भएको थियो तत्कालीन एमालेका नेता माधव कुमार नेपालको उपस्थितिमा । उनी सपत्नी जापान भ्रमणमा थिए । पहिलो संविधानसभाको चुनावमा एमालेको लज्जाजनक हार र आफैं पनि उम्मेदवारी दिएका दुबै ठाउँबाट पराजित भएका कारण माधव कुमार नेपालले दलको महासचिवबाट राजिनामा दिएका थिए र विदेश विभाग प्रमुख बनेका थिए । एमालेकै कुनै भातृसंगठनले गरेको त्यो कार्यक्रममा अरुलाई पनि निम्तो थियो । भाषणबाजीपछि खानपीन चलिरहेका बेला गला गतिलो हुने साथीहरुले गीत पनि गाएका थिए । माधव कुमार नेपालकी धर्मपत्नी गायत्री नेपालले पनि गीत गाइन्,गोपाल योञ्जनले गाएको “बनेको छ पहराले ….“ थियो त्यो शायद । उनको गायन निकै राम्रो थियो ।

त्यसको दश दिनपछि अर्को एउटा कार्यक्रमको निम्तो आयो । एमालेका तीन यूवा नेताहरु नागोया आईपुगेका रहेछन् र उनीहरुसँग अन्तरक्रिया कार्यक्रम राखिएको रहेछ । यो कार्यक्रम अनौपचारिक र भाषणरहित हुने भनिएको थियो, त्यसैले पनि ठिकै लागेर म गएको थिएँ ।

तीनजना युवानेता प्रदीप ज्ञवाली, स्व. रबीन्द्र अधिकारी र केही समय अघिमात्र माओवादी छोडेर एमाले पसेका रबीन्द्र श्रेष्ठ थिए । सहभागीहरु शुरुमा दशजना जति मात्रै थियौं, पछि अरु ६ र ७ जना थपिए होलान् । प्रदीप ज्ञवालीका कान्तिपुरमा पत्रपत्रिकाहरुमा प्रकाशित लेखहरु राम्रै लाग्थे मलाई । अरुका बारेमा खासै जानकारी थिएन ।

अनौपचारिक भनिएपनि तीनजना नेताहरुले केही विषयमा छोटो (दश—बाह्र मिनेट जति) बोल्ने र पछि हामीले प्रश्न सोध्ने कार्यक्रम तय भयो । प्रदीप ज्ञवालीको वक्तव्य झण्डै चालीस मिनेट जतिको गयो होला । नेपालको तत्कालीन राजनीतिक परिवेश र शान्ति प्रक्रियाको शुरुदेखिको त्यतिखेरसम्मको अवस्थाको बारेमा बोल्न भनेर भनिएपछि जति छोटो बोलेपनि त्यति त लाग्छ होला । उनको भाषण सरल र रोचक भाषा र क्रमबद्ध प्रस्तुतिका कारण पट्यारलाग्दो भने थिएन । उनको भाषणपनि लेखनजस्तै प्रभावशाली रहेछ भन्ने छाप परेको थियो त्यतिखेर ।

उनले संविधानसभा—चुनावको अप्रत्याशित परिणामको बारेमा पनि कुरा गरेका थिए र माओवादी नेतृत्वको सरकारको अपरिहार्यताको वकालत गरेका थिए । माओवादीले पाएको मतको एक तिहाईमात्रै प्रतिबद्ध ‘माओवादी’ मत भएको, एक तिहाई डर—त्रासको भएको र बाँकी एक तिहाई भने ‘एक पटक माओवादीलाई पनि हेरिहालौं न त’ भन्ने खालको मत भएको विश्लेषण थियो उनको । अघिल्लो हप्ता माधव नेपालले पनि यस्तै विश्लेषण पस्केका थिए । एमालेका नेताहरु यसैमा भर परेका थिए । उनीहरू माओवादीले सरकारमा गएर गल्ती गर्ने र त्यसका कारण ‘माओवादीलाई पनि हेरिहालौं न त’ भन्ने समूह उनीहरुलाई छोडेर आफूतिरै फर्किने आशामा आफूलाई अभ्यस्त पार्दै थिए । त्यतिखेर एमाले मात्र होइन, काङ्गे्रसको विश्लेषण पनि यस्तै थियो । नभन्दै त्यस्तै भयो पनि । माओवादीलाई सत्ता पचेन र सडकमा फर्कियो । देश संविधानसभाको दोश्रो चुनावमा गयो र माओवादीको अन्त्यको शुरुवात भयो ।

त्यसपछि छोटो मन्तब्य थियो रबीन्द्र श्रेष्ठको । उनी संविधान सभा चुनावको केही समय पहिला माओवादी छोडेर एमाले प्रवेश गरेका थिए र उनको मन्तब्यको मूल विषय पनि यहि थियो । छोटो समय भएकोले त्यति विस्तृत कुरो आउन सकेन तर जति सुनियो त्यतिका भरमा भने उनले माओवादी छोड्नुको कारण “माओवादीले जनयुद्धलाई सफल नबनाई, टुङ्गोमा नपु¥याई बीचैमा वार्तातिर लागेको” भन्ने बुझियो । त्यो कारणले माओवादी छोडेपछि एमाले पसेको ‘विरोधाभाष’ लाई साम्य पार्ने चित्त बुझ्दो ब्याख्या भने आएन । “जनयुद्धलाई सफल नबनाई, टुङ्गोमा नपु¥याई बीचैमा वार्तातिर लागेको” भन्ने असन्तुष्टिको समाधान एमाले प्रवेश होइन, माओवादीकै वार्ता विरोधी कुनै गुटले खोलेको नयाँ ‘दोकान’ हुनुपर्ने हो । यसमै बढी छलफल गर्ने समय पनि थिएन फेरि यसलाई बढी कोट्याउँदा ब्यक्तिगत ढंगले लिईदिने हुन् कि भन्ने पनि लाग्यो ।

यी रबीन्द्र श्रेष्ठ अहिले गुमनामजस्तै छन् । एउटा ‘काण्ड’पछि यिनको राजनीतिक जीवन समाप्त भएजस्तो छ । स्व. रबीन्द्र अधिकारीले छुट्टै मन्तब्य दिएनन् तर छलफलका बेला सहभागीहरुका जिज्ञासाका जवाफ दिएका थिए। मैले एमालेले आफ्नो मार्गनिर्देशक सिद्धान्त भनेर प्रचार गर्ने गरेको ‘जनताको बहुदलीय जनवाद’ र आम रुपमा हामीले बुझ्ने बहुदलीय लोकतान्त्रिक प्रणालीमा के फरक छ भनेर सोधेको थिएँ । प्रदीप ज्ञवालीले लम्बेतान जवाफ दिए मार्क्सदेखि दक्षिण अफ्रिकासम्मका प्रसङ्गहरु तानेर तर ‘जबज’ विशिष्ट र फरक हो भनेर उनीहरुले गर्ने दाबी प्रमाणित हुने कुनै आधार भने देखिएन उनको व्याख्याबाट । यो हुने कुरा पनि होइन ।

सन् १९८९ / १९९० को लोकतान्त्रिक लहरमा परेर सोभियत सँगको विघटन र पूर्वी यूरोपबाट साम्यवादी दलहरु चिलिम भएपछि नेपालमा पनि त्यो स्थिति नआओस् भनेर तत्कालीन महासचिवले चलाखीपूर्वक ओढाएको शब्दजालमात्र थियो यो ‘जबज’ । पछि माओवादीले पनि ‘एक्काइसौं शताब्दीको जनवाद’ भन्ने अर्को खोल ओढाउने कोशिश ग¥यो ।

साँझ छिप्पिँदै जाँदा जापानको आर्थिक/सामाजिक व्यवस्थाका बारेमा र जापान बसाईको हाम्रो अनुभवका बारेमा नेतात्रयको तर्फबाटपनि जिज्ञासाहरु राखिएका थिए । त्यतिखेरसम्म केही सहभागीहरुलाई सोमरसको तरङ्ग चढीसकेको थियो । नेताहरुमध्ये भने एकजनाले मात्रै पिएका थिए, कार्यक्रम सकिने बेलासम्म उनमा पनि राम्रै तरङ्ग चढीसकेको थियो ।

pokhara internet
Comments
Loading...