जिन्दगी अब शुरु हुन्छ !

वसन्त गौतम

पोखरा /

roma

छोरीको किण्डरगार्टेनकी प्रिन्सिपल उएदा सानको जागिरे जीवन २०१० को मार्च ३१ बाट सकिँदै थियो। छोरी लाने ल्याउने क्रममा कहिलेकाहिँ उनीसँग कुरा हुन्थ्यो । एकदिन उनलाई “सेन्सेइ अब के गर्नुहुन्छ?“ भनेर सोध्दा “’अब के गर्ने ?’ होईन, ’अब के नगर्ने ?’ हो।“ भनेर हाँसेकी थिइन् । उनले भनेकी थिइन् “गर्न मन लागेका तर जागिरको कारण गर्न नभ्याएका कुराहरु धेरै छन्। अब ती कुराहरु, आफ्नो रुचिका कुराहरु, गर्ने र आत्मसन्तुष्टि पाउने हो ।” उनको भनाइ अनुसार जागिरबाट निवृत्त भैसकेपछि पछि बल्ल उनको ‘वास्तविक जिन्दगी’ शुरु हुँदै थियो।

ICAS

त्यसको केही समय पहिला यस्तै कुराकानी शिमादा सेन्सेइ सँगपनि भएको थियो मेरो। शिमादा सेन्सेइको मूल जागिर र पेशा के हो भनेर मैले सोधेको थिईन, उनी हामी त्यतिखेर बस्ने खासुगाइ शहरमा रहेका विदेशीहरुका लागि काम गर्ने एक संस्थामा सकृय भएका कारण चिनजान भएको थियो। जापान बसाइका शुरुवाती दिनहरुमा उनले हामीलाई पनि धेरै सहयोग गरेकी थिइन् । निवृत्तिभरणमा जाने प्रसंग चलेपछि मैले सोधेको थिएँ अब यसपछि के गर्नुहुन्छ भनेर। उनको जवाफको आशय पनि उएदा सेन्सेइकै जस्तो थियो। शिमादा सेन्सेइले साठी वर्षबाट शुरु हुने आफ्नो ’दोश्रो’ जीवनलाई निबन्धकारको रुपमा सकृय बनाउने निश्चय गरेकी थिईन्।

जापान बसाइको अवधिमा धेरै अरु त्यस्तै मानिसहरुसँग भेटघाट भएको थियो मेरो, सबैको सोचाई उस्तै भेटिन्थ्यो । ‘दोश्रो जीवन’मा खुशीका साथ जमिरहेकाहरुसंग काम पनि गरेको छु मैले । विश्वविद्यालयमा मेरा प्राध्यापकको नेतृत्वमा रहेको ल्याबका त्यतिखेरका प्राविधिक व्यवश्थापक शिनोकुबो—सान दश वर्षदेखि जङ्गली चराहरुको पछाडि कुदिरहेका थिए । एउटा कम्पनीको जागिरमा ३६ वर्षभन्दा बढी बिताएर निवृत्त भएपछि उनी चराहरुको तस्बीर खिच्ने आफ्नो बच्चैदेखिको रुचिमा डुबे। उनी त्यतिखेर हप्ताको तीन दिन मात्रै काम गर्थे, त्यो पनि आफ्ना पूराना हाकिम मित्रको विशेष अनूरोधका कारणमात्रै । उनका पूराना हाकिम मित्र मेरा प्राध्यापक हुन्, दुबैजना एउटा कम्पनीमा लामो समय संगै काम गर्थे । शिनोकुबो—सान नयाँ—नयाँ प्रजातिका चराहरुको खोजीमा जापान र विदेशका जंगली क्षेत्रहरुको भ्रमणमा हिँडिरहन्थे र उनीसंगको कुराकानी भन्नु थरिथरिका चराहरु र थरिथरिका क्यामेराहरुका बारेको कुराकानी हो भने पनि हुन्थ्यो । त्यसको केही समय अघिसम्म यसैगरी आंशिक समय आउने कावागुची—सान पनि थिए ल्याबमा । उनी चाहिँ साठी वर्ष भएर सेवानिवृत्त भएपछि बाइक रेसर्स क्लबमा आबद्ध भएका थिए र महिनामा दुई—तीन पटक लामो दूरीका बाइक टूरमा निक्लन्थे ।
कावागुची—सानसँग अझै सम्पर्कमा छु म, उनले चार वर्ष पहिलेबाट कम्प्युटर तालीम केन्द्र पनि चलाइरहेका छन् । शिनोकुबो—सानबाट भने मेरा नयाँ वर्षका इमेलको जवाफ पाउन छोडेको पनि ४—५ वर्षै भइसक्यो ।

समाजमा यस्तो सकृय र आशावादी चिन्तनलाई हुर्काउन दुई कुराको सबैभन्दा बढी महत्व छ शायद। पहिलो, आर्थिक स्थायित्व र निश्चितता हो । सरकारी वा अरु कुनै औपचारिक क्षेत्रमा काम नगर्ने जनतालाई पनि जापानको निवृत्तिभरण प्रणालीले समेटेको छ । २०—६० वर्षका हरेक जापानी नागरिक र जापानमा कार्यरत विदेशी समेतले राष्ट्रिय निवृत्तिभरण प्रणालीमा अनिवार्य आबद्ध हुनुपर्छ । कम्पनीमा काम गर्नेहरु कम्पनीको पेन्सन प्रणालीमा पनि अनिवार्य आबद्ध हुन्छन् । निवृत्तिभरणको आम्दानीले दैनिक जीवन राम्ररी बित्न सक्ने भएपछि आफ्नो ‘सपना’ को काममा ढुक्कले लाग्न सकिने भयो। दोश्रो चाहिँ, शारिरिक र मानसिक स्वास्थ्य हो। भनीरहनु पर्दैन आफ्नो विशिष्ट खानपान र रहनसहनका कारण जापानीहरुको स्वास्थ्य विश्व औसतभन्दा धेरै माथिल्लो स्तरको छ र उनीहरुको औसत आयु पनि लामो छ । सुविधासम्पन्न स्वास्थ्य सेवा सबैको पहुँचमा छ । जापानमा स्वास्थ्य बीमापनि अनिवार्य छ । स्वास्थ्य बीमा नगर्ने हो भने साना—साना उपचारले पनि मान्छेलाई जोगी बनाइदिन्छन्। विद्यार्थीहरु, स्वरोजगारहरु र आंशिक रोजगार (हप्तामा तीस घण्टाभन्दा कम) हरु लाई ‘राष्ट्रिय स्वास्थ्य बीमा’ले समेट्छ भने औपचारिक क्षेत्रमा पूर्णकालीन रोजगारीमा रहेकाहरुलाई ‘स्वास्थ्य बीमा’ले समेट्छ । कम्पनीमा कार्यरतहरुको बीमा शुल्क पेन्सन शुल्कजस्तै तलबबाटै काटिन्छ । स्वास्थ्य बीमा गरेपछि वयस्कहरुले उपचार खर्चको तीस प्रतिशतमात्रै तिरे पुग्छ । ७५ वर्ष पुगेपछि, वा कुनै शारीरिक अशक्तता छ भने ६५ वर्षबाटै, उपचार खर्चको नब्बे प्रतिशतसम्म छुट हुन्छ । बच्चाहरुको उपचार भने निःशुल्क हुन्छ । स्वस्थ जीवनशैली र यस्ता सुविधाकै कारण जापानीहरुको औसत आयु ८५ वर्ष पुगेको छ । बूढेशकालसम्मै स्वस्थ रहेन हुँदा, ६० पछि शुरु हुने ‘दोश्रो जीवन’को कम्तिमा डेढ—दुई दशक शारीरिक र मानसिक रुपमा सकृय भएर बाँच्न गाह्रो हुँदैन उनीहरुका लागि । डेढ—दुई दशक भनेको छोटो समय होईन, यत्तिको लामो अवधिमा चाहेमा धेरै सृजनात्मक काम गर्न सकिन्छ । एक दशक मात्रैमा पनि धेरै गर्न सकिन्छ ।

parichay

जापानीहरु यो उमेरमा आफ्ना रुचिका कामका साथै आफ्नै देशभित्र र बाहिर यात्रा पनि बढी गर्छन् । जापानको सरकारी तथ्याङ्क अनुसार सन् २०१९ मा २ करोड जापानीहरुले विदेश भ्रमण गरेका छन् । यो संख्याको एउटा ठूलो हिस्सा यस्तै सेवानिवृत्त नागरिकहरु हुन् ।

आधुनिक समाजको एउटा ठूलो रोग यहि हो कि यहाँ धेरैजसो मान्छे आफ्नो रुचिभन्दा बाहिरको क्षेत्रमा रोजगार छन्। सबैका ‘सपना’हरु भौतिक जीवनको स्याहार—सुसारका लागि ‘शहीद’ भएका छन्। यसका लागि दोष कसलाई दिने, पारिवारिक र सामजिक चिन्तनको दबाबलाई कि आफैंलाई ? यस्तो हुनुको कारण अवसरको अनुपलब्धता हो या अवसर खोज्न नसक्ने आफ्नै अक्षमता ? यो ‘रोग’ आधुनिकमात्रै हो या मानव अस्तित्वको स्वभावनै यहि हो ? यो प्रश्न आफैं धेरै चिन्तनमननको विषय भईसकेको छ । यहि प्रश्नलाई खोतलेर समाधान खोज्ने प्रयासमा धेरै महान साहित्यिक कृतिहरु लेखिइसकेका छन् र अनेकौं चलचित्रहरु बनेका छन् ।

अर्कोतिर, आफ्नै रुचिसँग केही मिल्ने ‘जागिर’मा पुगेपनि सबै कुरा आफूले चाहेजस्तो हुन सक्दैन। जागिर भनेको सम्झौताको नाम हो, जसमा लगभग सधैंजसो रचनात्मकता र आत्मसन्तुष्टिभन्दा पैसा वा रोजगारीको सुरक्षा बढी महत्वपूर्ण लाग्छ । यहाँसम्म कि आफ्नै सृजनाका भरमा बाँच्ने लेखकहरु, चित्रकारहरु, संगीतकार वा अरु कुनै पनि पेशाको पेशेवर – उनीहरुले पनि बजारको नाडी छामेर त्यसै अनुसारको सृजना नगरी बाँच्न गाह्रो हुन्छ ।

लामो समयदेखि मेरो मनमा यस्तै तर्कना तिब्र रुपले चलिरहेको छ । लाग्छ, उएदा सेन्सेइ र शिमादा सेन्सेइजस्तै म पनि आफ्नो ‘सपना’को जीवन बाँच्न आफ्नो ‘दोश्रो जीवन’ कुरिरहेछु । तर मेरो ’दोश्रो जीवन’ पनि उनीहरुको जस्तै सामाजिक रुपले सुरक्षित, आर्थिक रुपले निश्चिन्त, र मलाई कम्तिमा डेढ—दुई दशकको नयाँ जीवन दिन सक्ने गरी पूर्ण स्वस्थ,यति अवसरसम्पन्न होला—नहोला, त्यो भने अनुमान गर्न गाह्रो छ।

तर सकेसम्म आफ्नो उर्जालाई, आफनो आगोलाई जोगाएर राख्ने कोशिशमा भने छु । र एक दिन म पनि घोषणा गर्नेछु, “जिन्दगी अब शुरु हुन्छ !”

जानकारीः
जापानी भाषामा गुरु, शिक्षक, प्रशिक्षक,आदिलाई आदरपूर्वक सेन्सेइ भनेर सम्बोधन गरिन्छ । डाक्टरहरुलाई पनि सेन्सेइ भन्ने चलन छ ।
कुनै व्यक्तिलाई सम्मानपूर्वक सम्बोधन गर्न उसको नामका पछाडि ‘सान’ जोडिन्छ ।

जापान प्रवासका पानाहरुबाट

pokhara internet
Comments
Loading...