ICAS

‘कोरोना सोरोना, लकडाउन थाहा छैन, भारी बोक्न कहिलेदेखि पाईन्छ ?’

काठमाडौं/

भारी बिसाउनुको अर्थ हो हल्का हुनु, शरीरको बोझ पन्छाउनु । त्यसैले मानिस भारी अर्थात् बोझ बिसाएरै हल्का भएर बस्न चाहन्छ । शरीरमा भारी लिएर बस्न कोही पनि चाहँदैन । मानिसहरु भन्छन् शरीरले मात्र नभएर भारी मनले पनि बोकेको हुन्छ । त्यसैले मनको भारी पनि बिसाएर हल्का महशुस गर्छन् मानिसहरु ।

Parichay
Infomatics

तर भारी बिसाउन चाहन्न् बाघबहादुर । बिसाएर पनि के गर्नु ? दिनहुँ भारी नपाए ६७ वर्षीय बाघबहादुर तामाङको छाकै टर्दैन । त्यसैले उनी भारी बिसाएर बस्ने होइन कि सधैँ भारी बोक्न चाहन्छन् । यो उनको नियति हो । तर अहिले शरीरमा भारी छैन, उनलाई भारी दिने बजार बन्द छ । त्यसैले उनको छाक टर्न छोडेको छ । उनलाई भारी नहुँदा शरीर हल्का भएजस्तो मात्र भएको हो, भोकले भने मन मस्तिष्क सबै गलाएको छ । शरीरले भारी नपाउँदा मनको भारी झन्भन्दा झन् गह्रौँ बन्दै गएको छ । यस्तै छ बाघबहादुर र उनका भरिया साथीहरुको जिन्दगी ।

भातका गाँस कपाकप मुखमा हाल्दै थिए बाघबहादुर । भोको पेटमा परेको भोजनको चरम आनन्दले उनको मुहारै भित्रैदेखि हासेको देखिन्छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित नवलपुरका तामाङले यति मिठो मुखले भात खाइरहेका छन् कि उनको मुखलेभन्दा शरीरको हाउभाउले नै सुखको सञ्चारका शब्दहरु बोलिरहेको छ ।

जबजब उनको मुखमा गाँस थपिँदै जान्छ मुजैमुजा परेको मुहार दिलैदेखि हाँसेको अनुभूति हुन्छ बाहिरबाट देख्नेलाई । ठूलो सपना छैन बाघबहादुरको अहिले । पेटभर खान पाए पुग्छ । शीरमा नाम्लोले थेप्चिएर कच्याककुचुक परेको ढाका टोपी छ, तर बेलाबेलामा यसो सजिरहन्छन् । वर्षौं पुरानो देखिने स्पोर्टस् जुत्ता, ट्राउजर र ज्याकेट छ शरीरमा । गएको शिशिर ऋतुका सायद काठमाडौँका कैयौँ चिसा रात यही कपडाले फाल्यो होला ।

काठमाडौँको जोरपाटीमा वर्षौंदेखि भारी बोक्ने बाघबहादुर लकडाउनका कारण काम नपाएपछि संस्थाले दिएको खानाको भरमै छन् । पाए खाने नत्र कोठामा गएर सुत्ने दैनिकी नै भएको छ उनको । काम नहुँदा अचेल उहाँको टाउकामा नाम्लाको पुरानो दाग मेटिन खोज्दैछन् । आजभोलि थाप्लोले नाम्लोको डाम पाएको छैन । बाघबहादुरको थाप्लोमा नाम्लो नबसेको डेढ महिनाभन्दा बढी भयो । तर थाप्लोमा नाम्लाको डाम बस्न नपाएको पीडाले उनको मन अहिले उकुसमुकुसमा छ ।

शुक्रबार जोरपाटीमा भेटिएका उनले लकडाउनको फरक अनुभव सुनाए । एक्कासी सबै गतिविधि ठप्प कसरी भयो भनेर उनी शुरुमा त छक्कै परे । विस्तारै साथीभाइसँग बुझ्न थाले । त्यसपछि उनलाई थाहा भयो काठमाडौँमा त ‘नेपाल बन्द’ भएको रहेछ । साथीभाइसँगको खासखुसले लकडाउन भन्ने त थाहा भएन, उनले विगतमा पनि पटक पटक हुने गरेको नेपाल बन्द मात्र सम्झिए । पहिले पहिलेका नेपालबन्दले जस्तो अहिले पनि उनी अवाक छन् ।

अघिपछि नेपाल बन्द हुँदा बरु केही न केही गतिविधि हुन्थे । यसो थाप्लोमा नाम्लो हाल्न पाइन्थ्यो । तर अहिलेको ‘नेपाल बन्द’ले त उनलाई साह्रै गाह्रो पारेको छ । अनि भन्छन् पहिले पहिले हुने नेपाल बन्द यति लामो समय पनि हुँदैनथ्यो । काम गर्न र खाना खान उहाँलाई समस्या हुँदैनथ्यो । केही न केही काम पाइन्थ्यो । तर यसपाली जति भौतारिँदा पनि बाघबहादुरले काम पाएनन् । अनि बल्ल अहिलेको बन्द त्यो खालको हैन भन्ने थाहा भयो । अनि बुझे कि यो त महामारीको बन्द पने रहेछ । धेरै वर्षदेखि काठमाडौँको जोरपार्टीमा चामल र कपासको भारी बोकेर यताउता लैजाने काम थालेका उनलाई न अहिलेको महामारी थाहा छ र नत यसबाट कसरी बच्ने भनेर नै कसैले सुनाएको छ ।

अहिले काम कस्तो चल्दैछ ? हाम्रो प्रश्न सुनेपछि निधारमा गाँठो पार्दै जवाफ दिए “के काम पाउनु नि ? पहिले त नेपाल बन्द भयो भन्ने लाग्यो अनि यतिका धेरै दिन लाग्यो किन खुल्दैन भनेँ, यसो साथीहरुलाई बुझेँ, होइन नि योत महामारी पो रहेछ भने । यी बजार यसरी सबै ठप्पै छ, कति भैसक्यो, के काम पाउनु नि ।”

के महामारी रहेछ ? हामीले सोध्यौँ । “खोई मान्छेहरु कहाँकहाँ मर्यो भनेर बन्द गर्या रे भन्छन्, अब यस्तै हो मानिस धेरै स्वार्थी भैगो, आउँछ महामरी पनि ।” उनको जवाफ थियो । त्यसपछि उनले आफ्नो मनको बह पोख्न थाले, “हामीलाई पनि मार्नु मार्यो, काम भएन, दाम पनि भएन, भारी बोक्न पाए त खुशी, नत्र दुःखैदुःख, यही त हो हामी भरियाको जिन्दगी ।”

यतिखेर विश्व नै कोरोनाको कहरमा डुबेको छ । डेढ लाखभन्दा बढीको ज्यान गइसक्यो । लाखौँलाई यो भाइरसको सङ्क्रमणले आक्रमण गरेको छ । कति मृत्युसँग लड्दैछन् । हरेक कामकाज र अर्थतन्त्र डामाडोल छ । गतिविधि चलायमान हुन सकेको छैन । विश्वमा मानवीय क्षति बढ्दै गर्दा त्यसको प्रभाव नेपालमा पनि पर्ने त्रास हामीमा पनि छाएको छ ।

यस्तो विषम परिस्थितिमा बाघबहादुर जस्ता लाखौँ मजदूरको बिचल्ली छ । उनी अहिले ६७ वर्षको भए तर ५० किलोसम्मको भारी बोक्न सक्छन् । यसरी भारी बोक्दा एक भारीको रु ४०/५० देखि रु १०० सम्म हात पथ्र्यो । दिनमा बढीमा ५/७ सय कमाई हुन्थ्यो । यसैले छाक टथ्र्यो । अचेल दिनभर भारी बोक्न पाइँदैन ।

मजदूरलाई कमाइ हुँदा बेलुकाको छाक राम्रो र मिठो लाग्छ । भारी बोक्न नपाउँदा खिन्न भएर फर्कनुपर्छ । त्यसैले भारी विसाउने चाहना हुँदैन यस्ता असङ्गठित क्षेत्रका मजदुरलाई । उनले थपे, “समस्या त त्यही हो नेपाल खोलेन, पैसा कमाउन पाएन, अहिले अरुले दिए खाने नत्र भोकै पर्ने भएको छ । अरु त त्यस्तै हो, अब छिटो खुले हुन्थ्यो ।”

बाघबहादुरको झैँ सिन्धुलीका हरिबहादुर माझीका दुःखका दिन पनि यसैगरी बितिरहेको छ । काम नपाउँदा केही दिन भौतारिनुप¥यो । दुई चार दिन पेट भोकै रह्यो । न सडकमा सवारी साधन छन् नत मान्छे । अनि भारी बोक्न पाउने कुरै भएन । भक्तपुरमा भारी बोक्ने काम गर्ने माझी भन्छन्, “जे पाइन्छ, त्यही गरिन्थ्यो, अहिले त पेट भर्न पनि गाह्रो भइसक्यो ।” उनलाई अहिले जस्तो सकस कुनै बन्दमा भएको थिएन । दिउँसो दाताले दिएको खाना खाने अनि कतै पाटीतिर गएर सुत्ने दैनिकी बनेको छ ।

दैनिक भारी बोक्न पाउँदा उहाँजस्ता अनगिन्ति मजदूर औधी खुशी हुन्छन् । जति धेरै भारी पायो, उति धेरै खुशी हुने ज्यान अहिले भारी नपाउँदा आराम छैन बरु पीडा थपिएको छ । आराम धेरै हुँदा बेचैनी बढ्दैछ । रातमा राम्ररी निद्रा लाग्दैन । त्यसैले माझी भारी बोक्न पाउने समय पर्खिरहहेका छन् ।

उनका अन्य साथीहरु भाइकाजी खत्री, रामबहादुर वाइबा, बाबुराम गुरुङ, प्रेम धिमालको दैनिकी पनि यसैगरी बितिरहेको छ । जीवन गुजारा गर्ने माध्यम नै टुटेपछि सहाराविहीन बनेका छन् । अहिलेसम्म सङ्घसंस्थाले खाना दिएको थियो । कतिपय स्थानीय तहले यसरी निःशुल्क खाना बाँड्न रोक लगाएको छ । सरकारले उनीहरुलाई स्थानीय तहको विकास निर्माणमा सहभागी गराउने निर्णय गरेको छ । त्यसमा पनि आफ्ना मान्छेलाई मात्र दिने होलान् भन्ने चिन्ता मजदुरको छ । “हामी जस्तो गरिबले न यसअघिको राहत पायो, न अब काम नै पाउँछौँ”, खत्रीले गुनासो गरे, “गरिबको कोही पनि छैन ।”

सरकारले यसअघि असङ्गठित क्षेत्रका मजदूरलाई राहत दिने निर्णयका विषयमा उनीसँग तीतो अनुभव छ । नागरिकता बोकेर स्थानीय तहमा गए पनि राहत पाएनन् । आफ्ना मान्छेलाई, घर भएकालाई, जिम्मा लिनेलाई मात्रै राहत दिन थालेपछि रित्तो हात फर्कनुपरेको अनुभव उनीसँग छ । भक्तपुरको शङ्खधर चोकमा भेटिभएका खत्रीले मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी सामुु नै दुखेसो पोखेका थिए ।

यसरी सडकमा आउने असङ्गठित मजदुर मात्रै छैनन् । शिक्षक, विद्यार्थी, अन्य सामान्य पेशा अपनाउने, साना व्यवसायी समेत छन् । व्यवसाय नचल्दा केही हप्ता त समस्या परेन । त्यसपछि विस्तारै खाने र बस्नेको अभाव हुन थाल्यो । कामको खोजीमा सडकलाई सहारा लिनुको विकल्प भएन ।

काठमाडौँको जोरपाटीस्थित नारायणटार युवा क्लवका सल्लाहकार राजन खनाल भन्छन्, “संस्थाले चलाएको भोजन सेवामा व्यवसायी, शिक्षाक विद्यार्थीसमेत नियमित खान आउनुहुन्छ, समस्यामा असङ्गठित मजदूरमा मात्रै छैन, त्यो भन्दा माथिल्लो वर्गमा समेत परेको छ ।” झण्डै दैनिक एक हजारले खानाखाँदै आएको मेस स्थानीय तहको निर्देशनले शनिबारबाट बन्द भएपछि यस्ता मजदुरलाई फेरि पेट भर्नकै समस्या हुँदैछ ।

महामरीको सम्भावित सङ्क्रमणले गर्दा देश लकडाउनमा छ । यसका कारण निम्नबर्गीय मानिस प्रभावित भएका छन् । उनीहरु भोकै बस्नुपर्ने बाध्यता छ । नेपालको संविधान, २०७२ ले मौलिक हकमा नै खाद्य र आवासको व्यवस्था गरेको छ । संविधानको धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पार्ने अवस्थाबाट सुरक्षित हुने व्यवस्था छ ।

नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडा लकडाउन र सरकारको उपयुक्त रणनीतिका कारण कोभिड–१९ विरुद्धको सङ्घर्षमा मुलुकलाई सफलता मिलेको बताउँछन् । अहिलेको सरकारी योजना सही मार्गमा रहेको भन्दै पुनःजेठ ५ सम्मका लागि लकडाउन बढाइएको छ । सरकारले आर्थिक गतिविधिसमेत चलायमान बनाउन थालेको छ । सरकारको कामकाजमा यस्ता मजदूरहरुलाई रोजगारी दिने सरकारी निर्णय छ । सरकारले भने झैँ आर्थिक क्रियाकलाप हुन थाल्यो र काम पाइयो भने असङ्गठित क्षेत्रका मजदूरमा आशाको दियो बल्नेछ । रासस

pokhara internet
Comments
Loading...