पोखरामा अब निजी प्रयोगशालाबाट पनि कोरोना परीक्षण गरिने

लाइफकेयर डायग्नोस्टिक एण्ड रिसर्च सेण्टरले पायो अनुमति

पोखरा /

पोखराको लाइफकेयर डायग्नोस्टिक एण्ड रिसर्च सेण्टरले कोरोना परीक्षणको अनुमति पाएको छ । गण्डकी प्रदेशमा भएका दुइटा प्रयोगशाला पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र क्षयरोग उपचार केन्द्रमा आफूखुसी परीक्षण गर्नेको भीड भएपछि न्युरोडमा भएको रिसर्च सेण्टरले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पाएको हो ।

अहिलेसम्म सरकारी प्रयोगशालामा मात्र परीक्षण हुन्थ्यो भने अबबाट गण्डकीमा निजी क्षेत्रबाट पनि परीक्षण गर्ने तयारी भएको प्रयोगशालाका संचालक डा. अमर नागिलाले जानकारी गराए । उनका अनुसार यसले सरकारी प्रयोगशालाको चाङ घटाउन मदत गर्नेछ ।

ICAS

कोरोना परीक्षणका लागि आरटी पीसीआर मेसिन सहितको सामाग्री खरिद गरी प्रयोगशालाको स्थापना गरिएको उनले बताए । ‘स्वाब दिनकै लागि दिनभर लाइन बस्नुपर्ने अवस्था देखेपछि अब परीक्षणमा थप ध्यान पुर्याउनुपर्छ भन्ने लाग्यो फलस्वरुप हामीले ल्याबको स्थापना गरेका हौं’, उनले भने ।

लाइफकेयरमा अत्यावश्यक र संवेदनशील अवस्थाका व्यक्तिलाई तीन घण्टाभित्रै कोरोना परीक्षणको रिपोर्ट दिने गरी व्यवस्था गरिएको उनले जानकारी गराए । करिब एक करोड लागतमा स्थापना गरिएको लाइफकेयरमा तत्कालका लागि दुई हजार जनाको स्वाब परीक्षण गर्न सकिने गरी भिटिएम लगायत सामग्रीको व्यवस्था गरिएको उनको दाबी छ ।

लाइफकेयरमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा नै परीक्षण गरिने उनले बताए । जसका लागि १५ जनाको ल्याब विज्ञ सहितको टोली बनाएको नागिलाले बताए । उनीहरुलाई काठमाडौं लगेर तालिम दिएको थियो ।

कोरोनाको भ्याक्सिन अझै एक वर्ष आउने सम्भावना छैन । हालको अवस्थामा विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अप्नाउनुको विकल्प नभएको उनले बताए ।

pokhara internet
Comments
Loading...