ICAS
Rara

‘जीवनको अन्तिम पथसम्म सँगीतमै रम्न मन छ’

विनिता सुनार, पोखरा । 

नेपाली गीतसँगीतको उत्थानमा दार्जिलिङको महत्वपूर्ण योगदान छ । त्यहाँका थुप्रै कलाकारहरु नेपाली गीत गाएरै स्थापित भएका छन् । तिनै स्थापित हुने कलाकारमा पर्छिन् अजुदा थापा । पोखरालाई कर्मथलो बनाएर अगाडी बढ्ने गायिका मध्ये पर्छिन उनी ।

govnotice

आजभन्दा २४ बर्ष अघि अजुदा थापा सँगीतकै शिलशिलामा पोखरा प्रवेश गरिन् । वि.सं २०३४ साल फागुन १८ गते दार्जलिङकको सुखेपोखरीमा जन्मिएकी उनी एक साँगीतिक टोलीसँग पोखरा आएकी थिइन् । पोखरामा राम्रो भए काम गर्ने, नभए घुमेर फर्किने उनको योजना थियो ।

सानै उमेरमा बुबा–आमा गुमाएकी अजुदाले १० कक्षा दार्जिलिङकै स्कुलबाट पास गरिन् । तीन दाजुकी एक्ली बहिनी उनले दाइकै सहारामा स्कुल पढ्ने मौका पाइन् । घरमाहुँदा होस या स्कुलमा होस, जति बेला पनि उनी गीत गुनगनाई रहन्थिन् । उनी भन्छिन्, ‘दार्जलिङमा गीत सँगीत भनेपछि सबै पागल हुन्छन् । सायद त्यहि भएर होला गीत गाउने भनेपछि साह्रै रमाइलो लाग्थो ।’

‘तु सायर हे’ बोलको हिन्दी गीत पहिलो पटक उनी ८ कक्षामा हुँदा गाएकी थिइन् । जसले स्कुलमा सबैको मन जित्यो । दार्जिलिङमा हिन्दी गीत धेरै सुनिने हुँदा उनले हिन्दी गीत नै बढी गाउने गर्थिन् ।  नेपाली गीतको हकमा त्यतिबेला चलचित्र “युग देखी युग सम्म” को “तीन पाते डाँडा काटेर” चर्चामा थियो । दार्जलिङ छँदै उनले उक्त गीत धेरै गाइन् । ।

सानैदेखि गायन क्षेत्रमा रुची भएपनि यसरी पेशा बनाउँछु भनेर अजुदाले कहिल्यै सोचेकी थिइनन् । गाउँदै, गीत–सँगीतको बारेमा बुझ्दै गर्दा यो क्षेत्रमा कसरी घुलमिल भइन् उनी आफैलाई पत्तो छैन् । तर आज उनी यहि पेशामा रमाएकी छिन् । भन्छिन्, ‘अब त म सँगीत बिना अधुरो छु । जीवनको अन्तिम पथसम्म यो बाहेक अरु विकल्प छैन ।’

अजुदा सँगीत सिकेरै यस क्षेत्रमा आएकी भने होइनन् । अनुभव र परिवेशले उनलाई गायिका बनायो । पोखरा आइसकेपछि एक हप्ताजति सँगीत शिक्षा लाक्पा लामासँग भने लिइन् । उनी भन्छिन्, ‘कुनै कुरा सिक्ने भन्दा पनि आफुमा इच्छा शक्ति हुन आवश्यक पर्ने रहेछ । सायद यहि भएर अहिलेसम्म टिक्न सकिरहेको छु ।’

आफुले गरेको कामबाट अजुदा सन्तुष्ट रहेको बताउँछिन् । ‘कलाकारिता क्षेत्र भनेको अरुलाई मनोरञ्जन गराउने क्षेत्र हो’, उनी भन्छिन्, ‘आफु जस्तोसुकै अवस्थामा भएपनि अरुलाई मनोरञ्जन गराउनु पर्छ ।’ विगत लामो समयदेखि अजुदा पोखराको पुरानो रेष्टुरेण्ट ओपन हाउसमा आबद्ध छिन् । कति आए कति गए तर उनको निरन्तरता र लगावले उनलाई यो स्थानमा पुर्याएको हो ।

अनभुवका आधारमा अजुदा भन्छिन, ‘पहिला–पहिला रेष्टुरेण्ट तथा बारमा गाउने महिला कलाकारलाई गलत नजरले हेरिन्थ्यो । सकारात्मक दृष्टिले हेर्ने मानिसहरु कमै भेटिन्थे । त्यतिबेलाको सामाजिक परिवेशनै त्यस्तै थियो ।’ अहिले साँगीतिक क्षेत्रमा विस्तारै परिवर्तन हुँदै गएको उनी पाउँछिन् । रेष्टुरेण्टमा गाउने महिला कलाकारहरुको अवस्था अहिले पहिले जस्तो नभएको उनी बताउँछिन् । हरेक किसिमले महिलाललाई सहयोग गर्न थालिएको छ ।

parichay

धेरै अवसरहरु आएपनि समय दिन नपाउँदा महिलाहरु अझै अवसरबाट बञ्चित हुनुपरेको उनी बताउँछिन् । भन्छिन, ‘विवाह नगर्दा समाजको चिन्ता, विवाह पछि परिवारको चिन्ता र छोराछोरी भएपछि उनीहरुको चिन्ताले कलाकारितामा महिलाहरु कुण्ठित हुुनुपरेको अवस्था छ ।’

‘महिलाहरुमापनि धेरै क्षमता छ । तर घर परिवारबाट टाढा हुन नसक्दा अवसरहरु धेरै गुमाउनु परेको छ ।’ परिचय नेटवर्कसँगको कुराकानीको क्रममा उनले भनिन्

पहिला र अहिले गीत सँगीतमा पनि निकै फरक रहेको अजुदा सुनाउँछिन्् । उनी भन्छिन्, ‘पहिला–पहिलाको गीतहरुमा छुट्टै मिठास हुने गथ्र्याे । पछिल्लो समय गीतसँगीतको बजार झनै साँघुरो हुदै गएको छ । चर्चाको हुटहुटीमा गीतको मौलिकतालाई बिर्सेका छांै हामी कलाकारले ।’

पूर्वाधारको विकाससँगै गीतसँगीतमा विकृति पनि आएको उनको बुझाइ छ । केही राम्रा गीतहरु पनि यो बिचमा सिर्जना भएको उनी बताउँछिन् ।

‘चोली फाट्यो मखमल…’, ‘कहाँ बाट आयौ तिमी…’, ‘धौलागिरी अञ्चल…’, ‘वनमा फूल्यो लाली गुराँस…’, आहा रारा गोल्ड कप गीत लगायतका उनका थुप्रै चर्चित गीतहरु छन् । उनले नेपाली भाषमा मात्र नभई थकाली भाषाको गीतमा समेत आवाज दिएकी छिन् ।

भजनबाट उनको गीतको औपचारिक रेकर्डिङ सुरु भयो । ‘चौरीको गोठमा म जाँदा’ उनको तेस्रो रेकर्डेड गीत हो जसलाई दर्शकस्रोताले खुबै मन पराएका थिए । हालसम्म अजुदाको आवाजमा करिब ९० गीत रेकर्ड भइसकेका छन् । यतिमात्र नभई उनीसँग थुप्रै स्टेज शोहरुको अनुभव छ ।

२२ बर्षदेखि पोखरामा निरन्तर सँगीत सँघर्षले उनलाई मेलोडी गायिकाको रुपमा परिचित गराइन्छ । दार्जिलिङकी अजुदा थापाको विवाह पनि पोखरामै भयो । कन्दरा ब्याण्डका ड्रमर तथा सँगीतकार सुनिल थापासँग उनको प्रेम विवाह भयो । सँगीतबाटनै उनीहरुको जोडी जुर्यो ।

सँगीत क्षेत्रमा लागेर मात्र बाँच्न सकिने आधार निकै कम रहेको उनको अनुभव छ । उनी भन्छिन्, ‘अहिले एउटा गीत रेकर्ड गरेर मात्र हुँदैन त्यहिअनुसार भिडियो चाहिन्छ । बजारमा आएपनि दर्शकले मन पराउनु हुन्छ, राम्रोसँग चल्छ भन्ने पनि छैन ।’

सँगीतमा लाग्ने नयाँ पुस्तालाई सँगीतको बारेमा राम्रो शिक्षा लिएर आउन उनको आग्रह छ । सिक्ने मौका अहिले नै हो । जति सकिन्छ सँगीतको बारेमा सिकेर आउँदा सजिलो हुने उनले सुझाइन् । भविष्यको योजनाको के छ ? भनेर सोध्दा अजुदा भन्छिन्, ‘आफ्नै एउटा एल्बम निकाल्ने ठुलो योजना छ । त्यो समय मेरो जिन्दगीमा अवश्वरणीय क्षण हुनेछ ।’

pokhara internet
Comments
Loading...