ICAS

विश्व नर्स दिवस : यस्तो छ कोरोना फ्रन्टलाइनमा काम गर्ने नर्सहरुको अनुभव

सन्तोष बस्याल / एलिजा क्षेत्री, पोखरा ।

आज मे १२ तारिक । विश्व नर्स दिवस । आधुनिक नर्सिङ जन्मदाता फ्लोरेन्स नाईटिङ्गेल्सको २ सय औं जन्म जयन्ती पनि हो । यस वर्षको नर्स दिवसको नारा ‘नेतृत्वको लागि आवाज, विश्व स्वास्थ्यका लागि नर्सिङ् सेवा’ तय गरिएको छ ।

Parichay
Infomatics

आफू तथा परिवार सदस्यभन्दा माथि उठेर सधैँ बिरामीको सेवामा समर्पित हुने नर्सहरु अहिले कोरोना विरुद्धको लडाईमा समर्पित छन् । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आव्हानमा हरेक वर्ष मनाइने नर्सिङ दिवस यसवर्ष पहिले जस्तो छैन । कोभिड—१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिएर बिरामीलाई सेवा प्रदान गरिरहेका छन् नर्सहरु ।

२२ वर्षदेखि नर्सिङ पेशामा छिन् मिना थापा । पोखराको चरक मेमोरियल हस्पिटलमा कार्यरत थापाको नर्सिङ पेशामा लामो अनुभव छ । दिदीको प्रेरणाले उनी नर्सिङ पेशामा लागिन् । बिरामीको सेवा गर्ने सानैदेखिको रहर थियो । आज त्यही रहर उनको कर्म बनेको छ ।

महामारीका बेला चुनौती खेप्दै काममा खटिनुपर्ने बाध्यता छ उनमा । एकातिर अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने चुनौती छ । अर्को तर्फ अस्पतालबाट घर फर्किदा कतै परिवारमै सर्ने होकि भन्ने डर । तरपनि निरन्तर सेवामा तल्लिन छिन् उनी ।

महामारीका बेला विश्व नर्स दिवस हात धुने कार्यक्रम गरी मनाएको उनले बताइन् । ‘कोरोनाबाट बच्न हातलाई कसरी सफा राख्ने ? हस्पिटलमै चेतनामूलक कार्यक्रम गरेर नर्स दिवस मनाइयो’, उनले भनिन् ।

मीना थापा

रचना बस्नेत चरक मेमोरिय हस्पिटलमा कार्यरत छिन् । उनी नर्सिङ पेशामा आबद्ध भएको १० वर्ष भयो । कोरोना कहरको समयमा डराइडराइ फ्रन्टलाइनमा उभिएर काम गर्ने मध्ये पर्छिन् उनी । हालसम्म पोखरामा कोरोनाको सँक्रमण नदेखिएपनि ज्वरो, रुघाखोकीका बिरामी आउनेबित्तिकै तर्सिनुपर्ने अवस्था भएको उनी बताउँछिन् । महामारीका बेला आवश्यक सुरक्षा नीति अपनाएर बिरामीको सेवामा आफु निरन्तर लागिरहेको उनले सुनाइन् ।

विगतको नर्स दिवस हस्पिटलमै सबै नर्सहरुसँग मनोरञ्जनात्मक तवरले मनाए पनि अहिले भने कोरोनाका कारण तामझामका साथ मनाउन नपाएको उनले सुनाइन । सामाजिक दुरी कायम हुनेगरी कोरोनासँग जोगिने उपायहरुको सचेतनामूलक कार्यक्रम गरेर हस्पिटलमै नर्स दिवस मनाएको उनले बताइन् ।

रचना बस्नेत

पुष्पा पुन १२ वर्षदेखि नर्सिङ पेशामा छिन् । चरक मेमोरियल हस्पिटलमै काम गर्ने पुनको पनि लामो अनुभव छ । पहिले हस्पिटलमै बिरामीहरुलाई फलफूल वितरण गरी नर्स दिवस मनाएपनि अहिले त्यस्तो अवस्था नरहेको उनी बताउँछिन् । कोरोनाका कारण आफुलाई समस्या नभएता पनि चिनेका नर्सहरुले समस्या भोग्नुपरेको उनले सुनाइन् । ‘पोखरामा भाडामा बस्ने नर्सहरुलाई हस्पिटलमा राती अबेरसम्म काम गरेर घर पुग्दा घरबेटीले गेट नखोलिदिने समस्या भएको मैले पाएकी छु’, उनले भनिन्, ‘कसैलाई त घरबाटै जागिर नजाउ भन्ने आदेश आउँछ, थुप्रै समस्याका बावजुत काम गर्नुपर्ने अवस्था छ ।’

पुष्पा पुन

लगभग १३ वर्षदेखि नर्सिङ पेशामा आबद्ध रही काम गर्दै आएकी लक्ष्मी हिस्की यतिबेला मणिपाल टिचिङ हस्पिटलमा कार्यरत छिन् । उनी मेडिकल वार्डमा खटिएको देख्न सकिन्छ । कोरोनाको त्रासमा काम गर्नुपर्ने बाध्यता उनलाई नभएको होइन । तर सानै देखि नर्स बन्ने इच्छा । नर्सले लगाउने लुगादेखि सबै मन पर्ने । त्यसैले आफ्नो भविष्यको गन्तव्यको बाटो नर्सिङलाई बनाइन् उनले । ज्वरो र रुघाखोकी बिरामी आउँदा आफु झस्किने गरेको उनले बताइन् । पहिले आफु बाँचे पो अरुलाई बचाउन सकिन्छ । त्यसैले व्यक्तिगत सुरक्षा विधि अपनाएर उनी पनि बिरामीको सेवामा तल्लिन छिन् । अगाडीका समयमा विश्व नर्स दिवस मनोरञ्जनात्मक कार्यक्रम गरेर मनाएपनि यसपाली भने काममै व्यस्त रहेको उनले सुनाइन् । बिरामीको सेवा गर्न पाउँदा उनी खुशी छिन् ।

लक्ष्मी हिस्की

मणिपालको आकस्मिक कक्षमा कार्यरत नर्स हुन् उषा नेपाली । उनी नर्सिङ पेशामा आबद्ध भएको १५ वर्ष पुग्यो । कोरोनाको प्रभावले बिरामी त्रसित हुँदा केही समस्या आएपनि बाँकी धेरै समस्या झेल्नुनपरेको उनले बताइन् । अस्पतालको व्यवस्थापन पक्ष सबल हुँदा बिरामीलाई सेवा दिन सहज भएको उनको भनाइ थियो । घरमा वा छिमेकमा नर्स भएकै कारण महामारीका बेला कुनै समस्या आफुले भोग्नुनपरेको उनले बताइन् ।

 

उषा नेपाली

pokhara internet
Comments
Loading...